काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले संघीय संसदबाट अन्तिम स्वीकृति पाएको छ। राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ लाई बहुमतबाट पारित गरेसँगै बजेटको संसदीय प्रक्रिया पूरा भएको हो।
राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। छलफलपछि उक्त विधेयक बहुमतबाट पारित भएको हो। यसअघि प्रतिनिधिसभाले पनि विनियोजन विधेयक अनुमोदन गरिसकेको थियो।
यसैगरी, आर्थिक विधेयक, २०८३ पनि बहुमतबाट पारित भएको छ भने राष्ट्र ऋण उठाउने विधेयक, २०८३ सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ। ऋण उठाउने विधेयकमाथि प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले सरकारले सहुलियतपूर्ण तथा आवश्यकतामा आधारित ऋण परिचालनको नीति अवलम्बन गरेको बताएका थिए।
राष्ट्रिय सभाबाट बजेटसम्बन्धी सबै आवश्यक विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि संसदीय कानुनी प्रक्रिया पूरा भएको छ। अब संवैधानिक प्रक्रियाअनुसार प्रमाणीकरणपछि सरकारले बजेट कार्यान्वयनलाई औपचारिक रूपमा अघि बढाउनेछ।
प्रतिक्रिया 0