असोज ८ गते युएन महासभामा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाहलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार दोहाबाट न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्।
न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत अधिकारीहरूले प्रधानमन्त्री शाहलाई स्वागत गर्नेछन्। सोही दिन प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग पुग्नेछन्। त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले भ्रमण तथा कार्यक्रमबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नेछन्।
त्यसपछि प्रधानमन्त्री शाहको सम्मानमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा उनी सहभागी हुने कार्यक्रम रहेको छ।
असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने कार्यक्रम छ। त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट दोहातर्फ प्रस्थान गर्नेछन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत तथा बिदाइ गर्नेछन्।
प्रधानमन्त्री शाह असोज १० गते (२६ सेप्टेम्बर) स्वदेश फर्किने तालिका रहेको छ।
No advertisements available
प्रतिक्रिया 0