अमेरिकी १० वर्षे ट्रेजरी यिल्ड २४ वर्षयताकै उच्च

विश्वभर ऋणको लागत बढ्ने दबाब

बिहीबार, १५ आश्विन २०८३, दिउँसो २:१०


काठमाडौं । अमेरिकी सरकारको १० वर्षे ट्रेजरी बन्डको यिल्ड ५.३१ प्रतिशत नजिक पुगेको छ। यो सन् २००२ यताकै उच्च स्तर हो। विश्वव्यापी बन्ड बजारमा बिक्रीको दबाब बढिरहेका बेला अमेरिकी ट्रेजरीमा पनि लगानीकर्ताको बिक्री बढेपछि यिल्ड उकालो लागेको हो।

बुधबार कारोबारका क्रममा १० वर्षे ट्रेजरीको यिल्ड ५.३०६ प्रतिशत पुगेको थियो। यसले सन् २००२ को मे महिनामा देखिएको उच्च स्तरलाई समेत पार गरेको थियो। बिहीबार यिल्ड करिब ५.३१ प्रतिशत पुगेपछि केही समयमै ५.२८ प्रतिशतभन्दा तल झरेको रोयटर्सले जनाएको छ।

ट्रेजरी बन्डमा सरकारले तोकेको कुपन दर बन्ड जारी गर्दा नै निश्चित हुन्छ। तर दोस्रो बजारमा बन्डको मूल्य घटबढ हुँदा त्यसबाट प्राप्त हुने प्रभावकारी प्रतिफल अर्थात् यिल्ड परिवर्तन हुन्छ।

पछिल्लो समय लगानीकर्ताले दीर्घकालीन अमेरिकी सरकारी ऋणपत्र बिक्री गर्न थालेका छन्। बिक्री बढ्दा बन्डको बजार मूल्य घट्छ र मूल्य घटेपछि त्यसको यिल्ड बढ्छ। त्यसैले अहिले अमेरिकी ट्रेजरीको यिल्ड बढ्नुको प्रमुख कारणमध्ये बन्ड बजारमा भइरहेको बिक्री पनि हो।

महँगी बढ्ने चिन्ताले बिक्रीको दबाब

बन्ड बजारमा बिक्री बढ्नुको अर्को प्रमुख कारण महँगी पुनः बढ्न सक्ने चिन्ता हो। ऊर्जा बजारमा देखिएको अस्थिरता र उच्च तेल मूल्यका कारण आगामी दिनमा मुद्रास्फीति थप बढ्न सक्ने आशंका लगानीकर्तामा देखिएको छ।

महँगी उच्च रहिरहे अमेरिकी फेडरल रिजर्भले ब्याजदर लामो समयसम्म उच्च राख्नुपर्ने अवस्था आउन सक्ने अपेक्षा लगानीकर्ताले गरेका छन्। उच्च ब्याजदरको वातावरणमा पुराना, कम कुपन भएका दीर्घकालीन बन्डको आकर्षण घट्न सक्छ। यसले त्यस्ता बन्डको बिक्री बढाउने र मूल्यमा थप दबाब पार्ने गर्छ।

अमेरिकी सरकारको ठूलो ऋणभार र आगामी दिनमा ठूलो मात्रामा ट्रेजरी ऋणपत्र जारी हुन सक्ने अपेक्षाले पनि दीर्घकालीन यिल्डमा दबाब बढाएको छ। त्यस्तै, कर्पोरेट क्षेत्रमा ठूलो मात्रामा ऋणपत्र जारी भइरहेकाले लगानीकर्ताको सीमित पूँजीका लागि विभिन्न ऋणपत्रबीच प्रतिस्पर्धा बढेको छ।

१० वर्षे ट्रेजरी यिल्ड किन महत्वपूर्ण?

अमेरिकी १० वर्षे ट्रेजरी यिल्डलाई विश्व वित्तीय बजारको महत्वपूर्ण बेन्चमार्क मानिन्छ। यसले अमेरिकी सरकारी ऋणको लागतमा प्रभाव पार्नुका साथै कर्पोरेट ऋण, घर कर्जा तथा अन्य दीर्घकालीन कर्जाको मूल्य निर्धारणमा समेत असर गर्छ।

त्यसैले १० वर्षे ट्रेजरी यिल्ड लामो समयसम्म उच्च रहँदा कम्पनीका लागि ऋण लिएर लगानी तथा व्यवसाय विस्तार गर्ने लागत बढ्न सक्छ। घरपरिवारका लागि पनि दीर्घकालीन कर्जाको लागत बढ्ने दबाब पर्न सक्छ। अमेरिकी सरकारका लागि भने नयाँ ऋण उठाउने लागत बढ्नुका साथै ऋणको ब्याज भुक्तानीसम्बन्धी खर्चमा दबाब पर्न सक्छ।

३० वर्षे ट्रेजरी यिल्ड पनि उच्च

अमेरिकी ३० वर्षे ट्रेजरीको यिल्ड पनि ५.६५ प्रतिशतभन्दा माथि पुगेको छ। यो पनि सन् २००२ यताकै उच्च स्तर हो। यसले अमेरिकी बन्ड बजारमा बिक्रीको दबाब विशेषगरी लामो अवधिका ऋणपत्रमा बढी रहेको देखाउँछ।

रॉयटर्सका अनुसार सेप्टेम्बरमा समाप्त भएको त्रैमासिक अवधिमा अमेरिकी १० वर्षे ट्रेजरी यिल्ड ८७.१ आधार अंक बढेको थियो। यो सन् १९९४ यताकै सबैभन्दा ठूलो त्रैमासिक वृद्धि हो।

अमेरिकाबाहिर पनि प्रमुख बन्ड बजारमा यिल्ड बढेको छ। जापानको १० वर्षे सरकारी बन्ड यिल्ड करिब ३.१ प्रतिशत पुगेको छ भने बेलायतको ३० वर्षे सरकारी बन्ड यिल्ड ६ प्रतिशत पुगेको छ। बेलायतको उक्त यिल्ड सन् १९९८ यताकै उच्च हो। जर्मनी र अस्ट्रेलियालगायतका बजारमा पनि बन्ड यिल्ड बढेको छ।

यसरी अमेरिकी ट्रेजरी यिल्डमा आएको वृद्धि अहिले अमेरिकी बन्ड बजारमा मात्र सीमित छैन। यसले विश्वव्यापी ऋणको लागत, महँगीको अवस्था र आगामी ब्याजदर नीतिको दिशाबारे लगानीकर्ताको अपेक्षालाई समेत प्रभावित गर्ने महत्वपूर्ण वित्तीय संकेतका रूपमा काम गरिरहेको छ।

प्रतिक्रिया 0