विज्ञ सांसदलाई देश विकासमा योगदान दिन प्रधानमन्त्रीको आग्रह

बुधबार, १४ आश्विन २०८३, दिउँसो ३:३७


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान गर्न आग्रह गरेका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, नयाँ सोच र विकासका योजनामा केन्द्रित हुन आग्रह गरेका हुन्।

प्रधानमन्त्री शाहले प्राविधिक विषयमा विज्ञता हासिल गरेका सांसदहरू नीति निर्माण गर्ने महत्वपूर्ण स्थानमा रहेकाले आफ्नो दक्षता देश विकासमा प्रयोग गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, “तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”

प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिएका छन्। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका प्राविधिक विषयमा केन्द्रित हुन उनले आग्रह गरेका छन्।

उनले सांसदहरूलाई ‘असाधारण’ व्यक्तिका रूपमा उल्लेख गर्दै नयाँ उपाय र विचार ल्याएर त्यसको कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताएका छन्। नयाँ सोच र प्रभावकारी कामलाई प्राथमिकता दिए पाँच वर्षको अवधिमा मुलुकको विकासमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने धारणा प्रधानमन्त्री शाहले राखेका छन्।

प्रतिक्रिया 0