काठमाडौं । सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकासहित तराईका विभिन्न सहरमा वायु प्रदूषण बढ्न थालेको छ। वायुको गुणस्तर खस्किँदै जाँदा सर्वसाधारणको स्वास्थ्यमा जोखिम बढेको छ भने विज्ञहरूले आगामी दिनमा प्रदूषण थप बढ्न सक्ने चेतावनी दिएका छन्।
स्विस संस्था आईक्यूएयर (IQAir) ले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंको मध्यबानेश्वर क्षेत्रमा प्रतिघनमिटर १५३ माइक्रोग्राम पीएम २.५ प्रदूषण मापन गरिएको छ। भक्तपुरको शान्तिचोकमा १५१, तारकेश्वरमा १४७, रानीबारीमा १४५, टेकुमा १३९ तथा गौशाला चोक र क्षेत्रपाटीमा १३८ माइक्रोग्राम प्रदूषण मापन भएको छ। बालाजुमा पनि प्रतिघनमिटर १३४ माइक्रोग्राम पीएम २.५ रहेको छ।
अमेरिकी वातावरण संरक्षण निकाय (EPA) को वायु गुणस्तर सूचकांकअनुसार पीएम २.५ को मात्रा १५१ देखि २०० सम्म पुग्दा वायु सबैका लागि अस्वस्थकर मानिन्छ। यस आधारमा काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको शान्तिचोकमा प्रदूषण अस्वस्थकर तहमा पुगेको देखिन्छ।
काठमाडौं उपत्यकाबाहिर पनि प्रदूषणको अवस्था चिन्ताजनक देखिएको छ। बिहीबार बिहान बुटवल र धनगढीमा प्रतिघनमिटर १६० माइक्रोग्राम पीएम २.५ मापन भएको छ। विज्ञहरूका अनुसार धान काट्ने मौसम सुरु भएसँगै तराई क्षेत्रमा पराल तथा बालीका अवशेष जलाउने गतिविधि बढ्न थालेको छ। भारतका विभिन्न क्षेत्रमा हुने पराल जलाउने गतिविधि तथा सीमापारबाट आउने प्रदूषित हावाले समेत नेपालको वायु गुणस्तरमा असर पार्न सक्छ। वायु गुणस्तर विज्ञ भूपेन्द्र दासका अनुसार पराल जलाउने क्रम सुरु भइसकेकाले आगामी दिनमा प्रदूषण अझै बढ्न सक्ने जोखिम छ।
पीएम २.५ हावामा रहने २.५ माइक्रोमिटरभन्दा साना सूक्ष्म कण हुन्। यस्ता कण श्वासप्रश्वासका क्रममा फोक्सोको गहिराइसम्म पुग्न सक्छन् र स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पीएम २.५ को २४ घण्टाको औसत मात्रा प्रतिघनमिटर १५ माइक्रोग्रामभन्दा बढी हुन नहुने सिफारिस गरेको छ।
यसैबीच, संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को प्रतिवेदनअनुसार नेपालमा ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा छन्। विश्व बैंकको सन् २०२५ को प्रतिवेदनले वायु प्रदूषणका कारण नेपालीको औसत आयु ३.४ वर्षले घट्ने र वार्षिक करिब २६ हजार मानिसको समयअगावै मृत्यु हुने उल्लेख गरेको छ।
नेपालमा सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा निर्माण क्षेत्रको धुलो, औद्योगिक उत्सर्जन र फोहोर तथा बालीका अवशेष जलाउने गतिविधि वायु प्रदूषणका प्रमुख कारण हुन्। प्रदूषण नियन्त्रणका लागि सवारीसाधनको उत्सर्जन व्यवस्थापन, सडकको धुलो नियन्त्रण तथा खुला रूपमा फोहोर र पराल जलाउने कार्य रोक्न प्रभावकारी कदम आवश्यक देखिएको छ।
विश्वका प्रमुख सहरमा पनि वायु प्रदूषण उच्च
विश्वव्यापी रूपमा पनि वायु प्रदूषणको समस्या गम्भीर बन्दै गएको छ। नोभेम्बर ५ बिहानको आईक्यूएयरको तथ्यांकअनुसार पाकिस्तानको लाहोर २३८ एक्यूआईसहित विश्वका प्रमुख सहरमध्ये सबैभन्दा प्रदूषित देखिएको छ। भारतको दिल्ली २०३ एक्यूआईसहित दोस्रो र कोलकाता १८८ एक्यूआईसहित तेस्रो स्थानमा छन्। त्यस्तै, बंगलादेशको ढाका १६७, इरानको तेहरान १६० र भारतको मुम्बई १५८ एक्यूआईसहित उच्च प्रदूषण भएका सहरको सूचीमा छन्।
No advertisements available
प्रतिक्रिया 0