राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

मंगलबार, ३० असार २०८३, राति ८:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित तीनवटा महत्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन्। मंगलबार संघीय संसदबाट पारित विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३आर्थिक विधेयक, २०८३ प्रमाणीकरण भएसँगै बजेट कार्यान्वयनको संवैधानिक प्रक्रिया पूरा भएको हो।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयकहरू प्रमाणीकरण गरेका हुन्।

विनियोजन विधेयकले सरकारले विभिन्न मन्त्रालय तथा निकायका लागि स्वीकृत बजेट खर्च गर्न कानुनी आधार प्रदान गर्छ। त्यसैगरी, राष्ट्र ऋण उठाउने विधेयकले आवश्यक परे आन्तरिक तथा बाह्य स्रोतबाट ऋण परिचालन गर्ने अधिकार सुनिश्चित गर्छ भने आर्थिक विधेयकमार्फत कर, राजस्व तथा अन्य वित्तीय व्यवस्थासम्बन्धी प्रावधान कार्यान्वयनमा आउँछन्।

तीनै विधेयक प्रमाणीकरण भएसँगै सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि संसदबाट स्वीकृत बजेट, कार्यक्रम तथा योजनाहरू कार्यान्वयन गर्ने संवैधानिक र कानुनी बाटो खुलेको छ। अब सम्बन्धित मन्त्रालय, विभाग तथा सार्वजनिक निकायहरूले बजेटअनुसार विकास निर्माण, सामाजिक सुरक्षा, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा अन्य सरकारी कार्यक्रमहरू अघि बढाउन सक्नेछन्।

प्रतिक्रिया 0