काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। तर, निर्यातको तुलनामा आयातको आकार ठूलो हुँदा मुलुकको व्यापार घाटा भने ६ खर्ब ६९ अर्ब रुपैयाँ नजिक पुगेको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म नेपालको कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेर ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो।
निर्यातमा ४३ प्रतिशतभन्दा बढीको वृद्धि
समीक्षा अवधिमा नेपालको निर्यात व्यापारमा उल्लेख्य सुधार देखिएको छ। चार महिनामा कुल निर्यात ४३.४८ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ९३ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
निर्यात व्यापारमा भएको वृद्धिसँगै कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो चार महिनामा कुल व्यापारमा निर्यातको हिस्सा १३.३० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा बढेर १४.३१ प्रतिशत पुगेको छ।
आयात ८ खर्ब ३ अर्ब रुपैयाँ नाघ्यो
निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको आकार अझै ठूलो रहेको छ। समीक्षा अवधिमा नेपालको कुल आयात ३१.७७ प्रतिशतले बढेर ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।
आयात र निर्यातबीचको ठूलो अन्तरका कारण चार महिनामा नेपालको व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो।
त्यस्तै, आयात र निर्यातको अनुपातमा केही सुधार देखिएको छ। गत वर्ष एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६.५२ रुपैयाँको आयात हुने गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा उक्त अनुपात घटेर ५.९९ रुपैयाँमा झरेको छ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा गत वर्षको ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा आएको छ।
निर्यातमा भएको वृद्धिलाई सकारात्मक रूपमा लिन सकिए पनि आयातको तुलनामा निर्यातको आकार निकै सानो रहेकाले व्यापार घाटा नियन्त्रण चुनौतीपूर्ण देखिएको छ। स्वदेशी उत्पादन वृद्धि, निर्यातयोग्य वस्तुको पहिचान तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सके मात्रै मुलुकको व्यापार असन्तुलन कम गर्न सहयोग पुग्ने देखिन्छ।
No advertisements available
प्रतिक्रिया 0