भूमि प्रशासनको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा

मंगलबार, ३० असार २०८३, राति ८:०४
Font Size: 20px

काठमाडौं । भूमि प्रशासन अन्तर्गत सञ्चालन हुने केन्द्रीय अनलाइन प्रणाली (सर्भर) अवरुद्ध भएपछि देशभरका मालपोत तथा भूमि प्रशासन कार्यालयबाट प्रदान गरिने विभिन्न सेवा प्रभावित भएका छन्। सर्भर डाउन भएपछि अनलाइन रोक्का, फुकुवा, धितो दर्ता, नामसारी तथा अन्य भूमिसम्बन्धी सेवा समयमै सञ्चालन हुन नसक्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ।

यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा समेत परेको छ। बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका लागि आवश्यक धितो रोक्का, फुकुवा तथा धितो दर्ता प्रक्रिया सम्पन्न गर्न नसक्दा कर्जा वितरण, कर्जा नवीकरण तथा अन्य धितोसम्बन्धी कारोबार प्रभावित भएका छन्। सरकारी प्रणाली सञ्चालनमा नआएसम्म आवश्यक प्रक्रिया अघि बढाउन नसक्दा बैंक र सेवाग्राही दुवै समस्यामा परेका छन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक गिरिशकुमार झाले सर्भरमा देखिएको प्राविधिक समस्या समाधानका लागि प्राविधिक टोली खटिएको र सेवा छिट्टै पुनः सञ्चालनमा आउने बताएका छन्।

सर्भर अवरुद्ध हुँदा कार्यालयमा पुगेका सेवाग्राहीले घण्टौंसम्म प्रतीक्षा गर्नुपरेको छ भने कतिपयले अर्को दिन पुनः उपस्थित हुनुपर्ने अवस्था सिर्जना भएको छ। डिजिटल माध्यमबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारी प्रयास भइरहेका बेला यस्ता प्राविधिक समस्याले सेवा प्रवाहमा अवरोध पुर्‍याउने र सेवाग्राहीको विश्वासमा असर पार्ने देखिएको छ।

प्रविधि पूर्वाधार सुदृढ बनाउने, सर्भर क्षमता विस्तार गर्ने, प्रभावकारी Disaster Recovery (DR) प्रणाली लागू गर्ने तथा मर्मत वा प्राविधिक समस्याबारे समयमै सूचना प्रवाह गर्ने व्यवस्था आवश्यक रहेको सरोकारवालाको भनाइ छ।

प्रतिक्रिया 0