काठमाडौं । रसुवामा बुधबार बिहान आएको बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा रसुवामा बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे ब्रिफिङ गरिएको छ। बैठकमा बाढीबाट प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा खोजी कार्य र राहत व्यवस्थापनका विषयमा जानकारी गराइएको थियो।
प्रधानमन्त्री शाहले विपद्पछिको उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। उनले प्रभावित नागरिकको जीवनरक्षा र तत्काल राहतलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा परिचालित हुन तथा उद्धार, खोजी र राहत कार्यमा सहयोग गर्न अनुरोधसमेत गरेका छन्।
सरकारले बाढीबाट भएको क्षतिको थप विवरण संकलन गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउने तयारी गरेको छ।
No advertisements available
प्रतिक्रिया 0