कैलाली । जालपादेवी केबलकार आयोजनाका मुख्य सञ्चालक चन्द्रप्रसाद ढकालले रसुवामा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्राकृतिक विपत्तिको पीडाबीच पनि नेपालमा दीर्घकालीन पूर्वाधार निर्माणको यात्रा रोक्न नहुने बताएका छन्।
कैलालीस्थित जालपादेवी केबलकार आयोजनाको तल्लो स्टेसनमा पुगेर ढकालले प्रकृतिले कहिलेकाहीँ परीक्षा लिए पनि त्यही प्रकृतिको काखमा निर्माण भइरहेका पूर्वाधारले नेपालको भविष्यप्रतिको विश्वास र आशा जगाउने बताए। उनले विपत्तिमा परेका परिवारसँग एकताबद्ध हुँदै राहत तथा पुनर्निर्माणमा सहयोग गर्नुका साथै दीर्घकालीन विकास निर्माणलाई पनि निरन्तरता दिनुपर्ने धारणा राखे।
ढकालका अनुसार जालपादेवी केबलकार सुदूरपश्चिममा निजी क्षेत्रबाट भएको सम्भावित ठूलो लगानीमध्येको एक हो। तर, उनका लागि यो आयोजना केवल लगानीको आँकडा नभई सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलाई पर्यटन, संस्कृति तथा आर्थिक गतिविधिमार्फत जोड्ने सपना पनि हो। यस्तो पूर्वाधारले प्रदेशबीचको दूरी घटाउँदै साझा आर्थिक तथा पर्यटन सम्भावनालाई अघि बढाउन सहयोग गर्ने उनको विश्वास छ।
जालपादेवी केबलकार चाँडै सञ्चालनमा आउने उल्लेख गर्दै ढकालले नेपालका सातै प्रदेशमा यस्ता पर्यटन पूर्वाधार विस्तार गर्न सके पर्यटकको बसाइ अवधि बढाउन सहयोग पुग्ने बताए। विशेषगरी कर्णाली र सुदूरपश्चिममा पर्यटन पूर्वाधारको विस्तारले आन्तरिक पर्यटकसँगै सीमापारिबाट आउने भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सक्ने उनको विश्वास छ।
ढकालले रसुवा बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को समयमा उद्धार, राहत तथा पुनर्निर्माणमा खटिएका सबैप्रति धन्यवाद दिएका छन्।
No advertisements available
प्रतिक्रिया 0