काठमाडौं । रसुवाको रसुवागढी र टिमुरे क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन पूर्वसूचना प्रणाली थप व्यवस्थित बनाउने काम अघि बढाइएको छ। बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न सीसीटीभी क्यामेरा तथा सम्भावित जोखिमका संकेत पहिचान गर्न सिस्मोमिटर जडान गर्न लागिएको हो। यसबाट नदी तथा आसपासको अवस्थाको निरन्तर निगरानी गरी जोखिम बढेमा सम्बन्धित निकायलाई समयमै सूचना पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यो काम जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाले अघि बढाएको हो। यसअघि भोटेकोशीमा आएको भीषण बाढीका क्रममा नदी तथा पुल क्षेत्रमा जडान गरिएका केही सेन्सर तथा पूर्वसूचना प्रणालीका उपकरण बगेपछि रसुवागढी–टिमुरे क्षेत्रमा तत्कालका लागि वैकल्पिक निगरानी प्रणाली स्थापना गर्न लागिएको हो। प्राविधिक टोलीले आवश्यक उपकरण जडानसँगै सोलार पावरको व्यवस्थासमेत गरिरहेको जनाइएको छ।
विशेषगरी सिस्मोमिटरबाट जमिनमा हुने कम्पनलगायतका संकेत निगरानी गर्न सकिने भएकाले सम्भावित ठूलो बाढी वा हिमताल फुट्ने जस्ता घटनाको जोखिम पहिचानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। सीसीटीभीबाट वास्तविक समयको अवस्था हेर्न सकिने र अन्य उपकरणबाट प्राप्त तथ्यांकका आधारमा पूर्वसूचना प्रवाह गर्न सके रसुवागढी–टिमुरे क्षेत्रमा मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
No advertisements available
प्रतिक्रिया 0