प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

कनेक्टिभिटी, व्यापार र ऊर्जामा छलफल

आइतबार, ६ मंसिर २०८३, राति ८:२८


काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विविध विषयमा छलफल भएको हो।

भेटका क्रममा दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको छ।

त्यसैगरी, नेपाल र भारतबीच विद्यमान द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्यलाई प्रभावकारी बनाउने विषयमा समेत दुवै पक्षबीच छलफल भएको जनाइएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्। भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

नेपाल र भारतबीच व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार तथा सांस्कृतिक सम्बन्ध लामो समयदेखि कायम रहँदै आएको छ। प्रधानमन्त्री शाहको यस भ्रमणलाई दुई देशबीचको सम्बन्ध र आर्थिक सहकार्यलाई थप विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया 0