भोटेकोशी बाढी : पुनःनिर्माणमा ७ खर्बभन्दा बढी लाग्ने अनुमान

मानवीय क्षतिसँगै पूर्वाधार र अर्थतन्त्रमा परेको ठूलो धक्का

शनिबार, १३ भदौ २०८३, दिउँसो १:०९

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा संरचनाको पुनःनिर्माणका लागि नेपाललाई ७ खर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेका अनुसार बाढीबाट भएको क्षति र त्यसपछि आवश्यक पर्ने पुनःनिर्माणको प्रारम्भिक लागत ४ देखि ५ अर्ब अमेरिकी डलरको बीचमा रहेको छ । यो रकम नेपालको कुल अर्थतन्त्रको करिब १० प्रतिशत बराबर हो ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न बस्ती, सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । बाढीले स्थानीय जनजीवनसँगै यातायात तथा आवागमनमा समेत गम्भीर असर पारेको छ ।

यस विपद्को ठूलो असर जलविद्युत् क्षेत्रमा समेत परेको छ । राष्ट्रिय उत्पादनमा करिब १२ प्रतिशत हिस्सा ओगट्ने जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेपछि उत्पादन तथा आयोजनाको निर्माण प्रभावित भएको छ । यसले तत्कालीन रूपमा विद्युत् उत्पादनमा असर पार्नुका साथै दीर्घकालीन रूपमा ऊर्जा पूर्वाधार पुनःस्थापनाको चुनौती थपिएको छ ।

अर्थमन्त्री वाग्लेले क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको र त्यसपछि पुनःनिर्माणका लागि आवश्यक रकम तथा प्राथमिकताबारे थप स्पष्ट हुने बताएका छन् ।

प्रारम्भिक अनुमानअनुसार नै ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिएपछि भोटेकोशी बाढी नेपालका लागि मानवीय क्षतिसँगै पूर्वाधार र अर्थतन्त्रमा परेको ठूलो धक्कामध्ये एक बनेको छ । पुनःनिर्माणका लागि ठूलो वित्तीय स्रोत जुटाउनुपर्ने चुनौती सरकारसामु देखिएको छ ।

प्रतिक्रिया 0