रसुवा बाढी : करिब ७५० मेगावाट विद्युत उत्पादन प्रभावित

बुधबार, १० भदौ २०८३, दिउँसो १२:१३

काठमाडौं । रसुवा र नुवाकोटमा आएको भीषण बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १४ वटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढीका कारण ती आयोजनाको कुल ७४८ मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता प्रभावित भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

प्रभावित आयोजनामध्ये ९ वटा सञ्चालनमा रहेका र ५ वटा निर्माणाधीन छन्। सञ्चालनमा रहेका आयोजनाबाट मात्रै करिब ३५४ मेगावाट तथा निर्माणाधीन आयोजनाबाट ३९४ मेगावाट क्षमतामा असर परेको बताइएको छ।

बाढीबाट निजी क्षेत्रका ७ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। ती आयोजनाको कुल क्षमता ५७३ मेगावाट रहेको छ। सञ्चालनमा रहेका निजी क्षेत्रका रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट), सान्जेन खोला (७८ मेगावाट), लाङटाङ खोला (२० मेगावाट) र चिलिमे (२२ मेगावाट) प्रभावित भएका छन्। यी चार आयोजनाको कुल क्षमता २३१ मेगावाट रहेको छ।

त्यस्तै, निर्माणाधीन निजी क्षेत्रका माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट), रसुवा भोटेकोशी (१२० मेगावाट) र माथिल्लो मेलम्ची–ए/मेलुङ–ए (६.४२ मेगावाट) आयोजनामा पनि क्षति पुगेको छ। यी तीन आयोजनाको कुल क्षमता ३४२ मेगावाट रहेको छ।

सरकारी क्षेत्रतर्फ सञ्चालनमा रहेका चार आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ। त्रिशूली जलविद्युत् आयोजना (२४ मेगावाट), देवीघाट (१४.१ मेगावाट), माथिल्लो त्रिशूली–३ए (६० मेगावाट) र २५ मेगावाटको सौर्य आयोजनामा क्षति पुगेको बताइएको छ। निर्माणाधीन सरकारी आयोजनामा भने हालसम्म क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।

बाढी तथा पहिरोका कारण आयोजनाका बाँध, विद्युतगृह, पहुँचमार्ग, प्रसारण तथा अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत मूल्यांकन हुन बाँकी छ। प्रारम्भिक विवरण भएकाले क्षतिको वास्तविक आकार अझ बढ्न सक्ने देखिएको छ।

जलविद्युत् क्षेत्रमा बाढीको यो क्षतिले उत्पादनसँगै आयोजनाको वित्तीय अवस्थामासमेत प्रभाव पार्न सक्ने देखिन्छ। बैंक तथा वित्तीय संस्थाको ठूलो कर्जा लगानी रहेको जलविद्युत् क्षेत्रमा आयोजना सञ्चालनमा अवरोध, पुनर्निर्माण लागत र बीमा दाबीले आगामी दिनमा वित्तीय जोखिम बढाउन सक्ने सम्भावना छ।

प्रतिक्रिया 0