‘टिट फर ट्याट’ पछि मैत्रीपूर्ण प्रतिस्पर्धा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वासिङ्टनमा उच्चस्तरीय भेटवार्ता भएको छ। चार महिनाअघि ट्रम्पले चीनको राजकीय भ्रमण गरेपछि त्यसको प्रत्युत्तरमा सीले यस साता अमेरिकाको राजकीय भ्रमण गरेका हुन्। लामो समयदेखि व्यापार, प्रविधि र रणनीतिक विषयमा प्रतिस्पर्धा गर्दै आएका दुई नेताको पछिल्लो भेटलाई सम्बन्धमा तनाव व्यवस्थापन गर्ने प्रयासका रूपमा हेरिएको छ।
ट्रम्प र सीबीचको सम्बन्ध पछिल्ला वर्षमा विशेषगरी शुल्क तथा व्यापार नीतिका कारण ‘टिट फर ट्याट’ अर्थात् एकअर्काको कदमको प्रत्युत्तर दिने शैलीको प्रतिस्पर्धा मा पुगेको थियो। तर पछिल्लो भेटमा दुवै पक्षले प्रत्यक्ष टकरावभन्दा संवाद र स्थिरतालाई प्राथमिकता दिएको संकेत दिएका छन्। अमेरिकी पक्षले व्यापार सम्बन्धलाई थप सन्तुलित बनाउने विषय उठाएको छ भने चिनियाँ पक्षले दुई देशबीच प्रतिस्पर्धा भए पनि त्यसलाई नियन्त्रणभित्र राख्नुपर्ने धारणा अघि सारेको रोयटर्सले जनाएको छ।
सीको वासिङ्टन भ्रमणका क्रममा ट्रम्पले उनलाई असामान्य रूपमा जोइन्ट बेस एन्ड्र्युजमै पुगेर स्वागत गरेका थिए। त्यसपछि ह्वाइट हाउसमा औपचारिक स्वागत समारोह र राजकीय रात्रिभोज आयोजना गरिएको थियो। यो भ्रमण एक दशकभन्दा बढी समयपछि सीको वासिङ्टनमा भएको पहिलो राजकीय भ्रमण हो।
वार्ताको मुख्य विषयमा व्यापार तथा शुल्क, कृत्रिम बौद्धिकता (एआई), अत्याधुनिक सेमिकन्डक्टर प्रविधि, दुर्लभ खनिज, ताइवान र इरान लगायतका विषय छन्। विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार तनाव कम भए पनि प्रविधि र रणनीतिक क्षेत्रमा प्रतिस्पर्धा भने कायमै छ। विशेषगरी एआई तथा उन्नत चिप प्रविधिमा पहुँचलाई लिएर अमेरिका र चीनबीच फरक नीति र चासो देखिँदै आएको छ ।
व्यापारतर्फ भने दुवै देशले तत्काल ठूलो सम्झौताको सट्टा अस्थिरता रोक्ने र विद्यमान व्यापार युद्धविरामलाई निरन्तरता दिने प्रयास गरिरहेका छन्। ब्लुमबर्गका अनुसार, पछिल्लो समय दुई देशबीचको व्यापार युद्धविराम थप दुई महिनाका लागि लम्ब्याउने सहमति बनेको छ। यसले तत्काल थप शुल्क वृद्धिको जोखिम घटाए पनि दीर्घकालीन व्यापार विवाद भने पूर्ण रूपमा समाधान भएको अर्थ नलाग्ने विश्लेषण गरिएको छ।
सीले भेटवार्तामा अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई नियन्त्रणमा राख्दै शान्तिपूर्ण सहअस्तित्व र संवाद आवश्यक रहेको बताएका छन्। उनले दुई देशले आपसी विश्वास बढाउन निरन्तर संवाद गर्नुपर्ने र सैन्य तहमा समेत संकट व्यवस्थापनका संयन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राखेका छन्।
यसैबीच, ताइवान दुई देशबीचको संवेदनशील विषयका रूपमा कायमै छ। चिनियाँ पक्षले ताइवान स्वतन्त्रताको समर्थन नगर्न अमेरिकालाई आग्रह गरेको छ भने ताइवानसँग सम्बन्धित अमेरिकी नीति र हतियार बिक्रीलाई बेइजिङले लामो समयदेखि आपत्तिजनक मान्दै आएको छ। त्यसैगरी इरानसँग चीनको सम्बन्ध र मध्यपूर्वको अवस्थाबारे पनि दुई नेताबीच मतभेद रहेको छ।
No advertisements available
प्रतिक्रिया 0