नेपालको जलवायु संकट विश्वको जिम्मेवारी : प्रधानमन्त्री शाह

मंगलबार, १६ भदौ २०८३, राति ९:०८

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको र यसले हिमाली क्षेत्रमा विपद्को जोखिम बढाउँदै लगेको बताएका छन्।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै प्रधानमन्त्री शाहले यो घटना हिमालय क्षेत्रमा बढ्दै गएको जलवायु जोखिमको गम्भीर संकेत भएको बताएका हुन्।

विज्ञहरूसँगको छलफलका क्रममा भोटेकोशीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति हुनसक्ने देखिएको उनले उल्लेख गरेका छन्। हिमनदीको ठूलो भाग उच्च उचाइबाट खस्दा ठूलो ऊर्जा उत्पन्न भएको र खसेकै स्थानमा बरफ पग्लिन थालेपछि बरफ तथा पानी मिसिएर ठूलो बाढीको रूप लिएको हुनसक्ने विज्ञहरूको प्रारम्भिक विश्लेषण रहेको उनको भनाइ छ।

हिमालयबाट नेपालतर्फको भूभाग क्रमशः ओरालो रहेकाले बाढीले थप गति लिँदै भोटेकोशी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रधानमन्त्री शाहले बताएका छन्।

“जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएको छ। सोही कारण यो विपत्ति आएकोमा शंका छैन,” प्रधानमन्त्री शाहले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन।

उनले हिउँ–चट्टान किन खस्यो र यति धेरै पानी कसरी उत्पन्न भयो भन्ने प्रश्नको वैज्ञानिक जवाफ खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्। यस्ता घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै बढ्दै गएको जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने देखाएको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका विपद्का विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्। उनका अनुसार जलवायु परिवर्तन विश्वव्यापी योगदानको परिणाम भएकाले त्यसबाट उत्पन्न विपद्को प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हुनुपर्छ।

प्रतिक्रिया 0