प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

२४ सेप्टेम्बरमा यूएन महासभामा सम्बोधन

मंगलबार, ६ आश्विन २०८३, बिहान ८:३८

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको ‘हाई लेभल वीक’मा सहभागिता जनाउनेछन्।

प्रधानमन्त्री शाहले २४ सेप्टेम्बर २०२६ अर्थात् ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभाको जनरल डिबेटलाई सम्बोधन गर्ने कार्यक्रम छ। महासभामा उनले नेपालको प्राथमिकता, अन्तर्राष्ट्रिय चासो तथा नेपालले भोगिरहेका विभिन्न चुनौतीका विषयमा नेपालको धारणा प्रस्तुत गर्नेछन्।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। उक्त भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ सम्बन्ध तथा आपसी सहयोगका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्याञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्।

यसअघि नै परराष्ट्रमन्त्री खनाल २० सेप्टेम्बरमा न्युयोर्क पुग्ने कार्यक्रमअनुसार विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी भएका छन। उनले विभिन्न देशका समकक्षी तथा अन्य उच्चपदस्थ अधिकारीसँग द्विपक्षीय भेटवार्तासमेत गरिरहेका छन।

प्रधानमन्त्री शाह २६ सेप्टेम्बर २०२६ मा काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया 0