काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई तीव्रता दिन सरकारले पाँचवटा कार्यदल गठन गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको अवस्थालाई व्यवस्थित रूपमा सम्बोधन गर्न विभिन्न क्षेत्रलाई समेटेर कार्यदल गठन गरी काम अघि बढाउने तयारी गरिएको बताएका छन्।
कार्यदलमार्फत भौतिक पूर्वाधार, सडक तथा पुल, खानेपानी तथा सरसफाइ र सुरुङ उद्धारलगायतका विषयमा केन्द्रित भएर काम अघि बढाइनेछ। बाढीबाट क्षतिग्रस्त संरचनाको अवस्था पहिचान, तत्काल गर्नुपर्ने उद्धार तथा पुनर्स्थापनाको काम र आगामी पुनर्निर्माणका लागि आवश्यक समन्वय कार्यदलले गर्ने गरी सरकार अघि बढ्न लागेको हो।
यसैबीच, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पुनर्निर्माणको ठोस कार्यढाँचा तीन दिनभित्र पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। राष्ट्रिय योजना आयोग, मुख्य सचिव तथा विज्ञ सुशील ज्ञवालीसहितको टोलीलाई विद्यमान कानुनी व्यवस्थाभित्र रहेर पुनर्निर्माणको कार्यढाँचा तयार गर्न भनिएको छ। विगतका पुनर्निर्माणमा देखिएका कमजोरीको अध्ययन गरी आवश्यक कानुनी तथा संस्थागत सुधारका विषयसमेत समेट्न निर्देशन दिइएको छ।
सरकारले नयाँ संरचना निर्माण गर्न लामो समय लाग्न सक्ने भएकाले विद्यमान कानुनी व्यवस्थाकै आधारमा प्रभावकारी संयन्त्र बनाएर पुनर्निर्माण अघि बढाउने विकल्पमा समेत जोड दिएको छ। तत्काल उद्धार तथा राहतसँगै क्षतिको मूल्यांकन, स्रोत परिचालन र प्रभावित क्षेत्रको पुनर्स्थापनालाई समेटेर काम अघि बढाउने सरकारको तयारी छ। यसका लागि तयार हुने तीनदिने कार्यढाँचाले पुनर्निर्माणको प्राथमिकता, जिम्मेवारी र कार्यान्वयनको आधार तय गर्ने अपेक्षा गरिएको छ।
No advertisements available
प्रतिक्रिया 0