घरजग्गा बजार : कारोबार र राजस्व दुवै बढ्यो

Sunday, 17 May 2026, 11:35 AM
8 पटक हेरियो
Font Size: 20px

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो महिना बैशाखमा देशभर घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभाग का अनुसार बैशाख महिनामा देशभरका भूमि प्रशासन कार्यालयमार्फत ५८ हजार ८ सय ८६ वटा घरजग्गा कारोबार सम्पन्न भएका छन् ।

यो संख्या अघिल्लो महिना चैतको तुलनामा ६.०४ प्रतिशतले बढी हो । चैत महिनामा ५५ हजार ५ सय ३१ वटा कारोबार भएका थिए । यस्तै, गत वर्षको सोही अवधिको तुलनामा पनि घरजग्गा कारोबार १२.३४ प्रतिशतले बढेको देखिएको छ । गत वर्ष बैशाखमा ५२ हजार ४ सय १५ वटा कारोबार भएको थियो ।

घरजग्गा कारोबारसँगै सरकारको राजस्व संकलनमा पनि सुधार देखिएको छ । चैत महिनामा घरजग्गा कारोबारबाट ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा बैशाखमा यो रकम बढेर ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ पुगेको विभागले जनाएको छ ।

सरकारले घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । विभागका अनुसार बैशाख महिनामा सेवा करबाट मात्रै ३४ करोड ४० लाख ६३ हजार रुपैयाँ राजस्व उठेको छ । त्यसैगरी रजिस्ट्रेसन दस्तुरबाट ३३ करोड १९ लाख रुपैयाँ तथा पुँजीगत लाभकरबाट ३३ करोड ३८ लाख रुपैयाँ संकलन भएको जनाएको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज हुनु, ब्याजदर घट्दो क्रममा रहनु तथा घरजग्गा बजारप्रति लगानीकर्ताको विश्वास विस्तारै फर्किन थालेकाले कारोबारमा सुधार आएको विश्लेषण गरिएको छ ।

23 घण्टा अगाडि
8 पटक हेरियो

प्रतिक्रिया 0