काठमाडौं । नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि श्रीलंकाले १० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ। श्रीलंकाका राष्ट्रपति अनुराकुमार दिसानायकेले विपद्बाट प्रभावित नेपाली नागरिकका लागि राहत तथा उद्धार प्रयासमा सहयोग पुर्याउन उक्त रकम उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका हुन्। श्रीलंकाको परराष्ट्र मन्त्रालयले २८ अगस्टमा जारी गरेको विवरणअनुसार राष्ट्रपति दिसानायकेले विपद्मा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति गहिरो सहानुभूति प्रकट गरेका छन्।
राष्ट्रपति दिसानायकेले नेपाल र श्रीलंकाबीच लामो समयदेखि कायम रहेको मित्रवत् सम्बन्धलाई स्मरण गर्दै कठिन परिस्थितिमा श्रीलंका नेपाली जनताको साथमा दृढतापूर्वक उभिएको बताएका छन्। नेपालमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि राहत तथा मानवीय सहायता आवश्यक परिरहेको अवस्थामा श्रीलंकाले आर्थिक सहयोग घोषणा गरेको हो।
यसैबीच, श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोनमार्फत कुराकानी गर्दै विपद्प्रति समवेदना र सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्। श्रीलंकाली सरकारले नेपाल सरकारसँग नजिक रहेर राहत तथा पुनःस्थापनाका प्रयासमा थप सहयोग गर्न सकिने उपायबारे सहकार्य गर्ने जनाएको छ। श्रीलंकाले उपलब्ध गराउने १० लाख डलरले नेपालमा बाढी तथा पहिरो प्रभावितका लागि सञ्चालन हुने राहत प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
No advertisements available
प्रतिक्रिया 0