भोटेकोशी बाढीको सातौँ दिनसम्म आइपुग्दा के–के भयो ?

मंगलबार, १६ भदौ २०८३, राति ९:२४

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सातौँ दिनसम्म आइपुग्दा सरकारले खोज, उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा सडक, विद्युत् तथा सञ्चार सेवा पुनःस्थापनासँगै प्रभावित नागरिकलाई आश्रय र राहत उपलब्ध गराउने काम अघि बढेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार बेलुका सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सातौँ दिनसम्म भएका प्रमुख प्रगति यस्ता छन् :

  • ११ हजार ८८४ जनाको उद्धार गरिएको छ भने ३ हजार ९१६ जना सम्पर्कविहीन छन्।
  • बाढीबाट उद्धार गरी अस्पताल भर्ना गरिएका २९२ घाइतेमध्ये १८२ जना डिस्चार्ज भइसकेका छन्।
  • नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा २ हजार ६५३ जनाले आश्रय तथा राहत प्राप्त गरिरहेका छन्।
  • नुवाकोटमा २ हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौंमा ३२९ जना होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।
  • बाढी प्रभावित क्षेत्रका लागि सरकारले १ अर्ब रुपैयाँ निकासा गरेको छ। त्यसमध्ये तीन जिल्लाका १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ तत्काल निकासा भएको छ।
  • प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकममध्ये १ अर्ब रुपैयाँ प्रभावित क्षेत्रमा निकासा भएपछि ५ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रुपैयाँ मौज्दात रहेको छ।
  • बाढीबाट क्षतिग्रस्त पृथ्वी राजमार्गका विभिन्न खण्डमा लेदो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ।
  • गल्छी–वेत्रावती सडकको गल्छी–देवीघाट खण्डमा बेलिब्रिज निर्माणको काम अघि बढेको छ भने तादी–देवीघाट र बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ।
  • बाढीबाट ४८ वटा झोलुंगे पुल क्षतिग्रस्त भएका छन्। २० वटा मर्मत गर्न सकिने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने अवस्थामा छन्।
  • प्रभावित क्षेत्रमा ३१ वटा मोटरेबल पुल बगेका छन्। तीन स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको छ भने थप २० स्थानमा सम्भाव्यता अध्ययन भइरहेको छ।
  • नुवाकोटमा ८५ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भएको छ। बाँकी क्षेत्रमा पाँच दिनभित्र सेवा पुर्‍याउने लक्ष्य राखिएको छ।
  • धादिङमा ९८ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ। बाँकी क्षेत्रमा दुई दिनभित्र विद्युत् पुर्‍याउने तयारी छ।
  • नेपाल टेलिकमका १२० मध्ये ११० र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आएका छन्।
  • विभिन्न जलविद्युत् आयोजनाबाट नेपाली सेनाले हालसम्म २७९ जनाको उद्धार गरेको छ। आयोजनाका सुरुङमा खोज तथा उद्धार जारी छ।
  • सम्भावित महामारी रोक्न प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोली, रोग निगरानी तथा मानसिक स्वास्थ्य परामर्श टोली परिचालन गरिएको छ।
  • बाढीबाट हालसम्म १ हजार ५० जनाको शव फेला परेको सरकारले जनाएको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने तथा पहिचान हुन नसकेकाको वैज्ञानिक प्रक्रियाबाट व्यवस्थापन भइरहेको छ।
  • भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, अष्ट्रेलियालगायत विभिन्न देशबाट राहत तथा आर्थिक सहयोग प्राप्त भइरहेको छ।
  • चीनले ३० करोड रुपैयाँ सहयोग गरिसकेको छ भने भारतले ६८.५ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराएको छ।
  • सरकारले उद्धार र राहतसँगै प्रभावित नागरिकको पुनःस्थापनाको तयारी अघि बढाएको छ। स्थानीय तहसँगको समन्वयमा प्रभावित नागरिक तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको छ।
  • सरकारले भोटेकोशी बाढीलाई हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै बढ्दो विपद् जोखिमको गम्भीर संकेत का रूपमा लिँदै अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु न्यायको मुद्दा उठाउने आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया 0