ब्रसेल्स । युक्रेनलाई थप आर्थिक तथा सैन्य सहयोग उपलब्ध गराउने विषयमा युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रहरूबीच मतभेद देखिएको छ। आगामी वर्षहरूमा युक्रेनलाई उपलब्ध गराइने सहयोगको आर्थिक भार कसले बेहोर्ने र त्यसको स्वरूप कस्तो हुने भन्ने विषयमा सदस्य राष्ट्रहरूबीच फरक धारणा देखिएको हो।
बेल्जियमको राजधानी ब्रसेल्समा नोभेम्बर २६ र २७ मा भइरहेको ईयू शिखर सम्मेलनमा युक्रेन सहयोगसँगै सन् २०२८ देखि २०३४ सम्मको दीर्घकालीन बजेटबारे छलफल भइरहेको छ। ईयू परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले आगामी दीर्घकालीन बजेटलाई सम्मेलनको सबैभन्दा महत्त्वपूर्ण एजेन्डा बताएका छन्। यद्यपि, यसै सम्मेलनबाट अन्तिम सहमति जुट्ने सम्भावना निश्चित नरहेको उनको भनाइ छ। वर्षको अन्त्यसम्म सम्झौताका लागि सदस्य राष्ट्रहरूलाई नजिक ल्याउने उनको प्रयास छ।
जर्मनीका चान्सलर फ्रेडरिक मर्जले युक्रेनलाई दिइने सहयोगमा सबै २७ सदस्य राष्ट्रको सहभागिता हुनुपर्ने अडान राखेका छन्। उनले युक्रेन सहयोगलाई ईयूको दीर्घकालीन बजेटसँग जोड्दै सबै सदस्य राष्ट्रले आर्थिक भार बाँड्नुपर्ने बताएका छन्। मर्जका अनुसार युक्रेनलाई पर्याप्त सैन्य तथा मानवीय सहयोग उपलब्ध गराउनु युरोपको साझा सुरक्षा हितसँग जोडिएको विषय हो। उनले सबै सदस्य राष्ट्रको सहभागिताबिना बजेटमा सहमति हुन नसक्ने संकेतसमेत दिएका छन्।
तर बुल्गेरिया, चेक गणतन्त्र, हंगेरी र स्लोभाकियाले युक्रेनको सैन्य सहयोगका लागि आर्थिक योगदान गर्ने विषयमा असहमति जनाएका छन्। चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रे बाबिसले युक्रेनको वित्तीय सहयोगलाई ईयूको दीर्घकालीन बजेटबाट अलग्गै छलफल गर्नुपर्ने बताएका छन्। उनका अनुसार आफ्ना नागरिकको आवश्यकता, पूर्वाधार र स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पनि सरकारको प्राथमिकता हो।
यद्यपि, बुल्गेरियाले भने आफ्नो अडानमा केही लचकता देखाएको छ। प्रधानमन्त्री रुमेन रादेवले युक्रेनका लागि प्रस्तावित ४५ अर्ब युरो ऋणमध्ये गैरसैनिक सहयोगका लागि छुट्याइएको २० अर्ब युरोमा सहभागी हुने बताएका छन्। तर हतियार तथा सैन्य सामग्री खरिदका लागि छुट्याइएको २५ अर्ब युरोमा आफ्नो देशले योगदान नगर्ने उनको भनाइ छ। युरोपेली आयोगले सदस्य राष्ट्रहरूबीच सहमति जुटाउन ऋणलाई सैनिक र गैरसैनिक गरी दुई भागमा विभाजन गरेको हो।
यसैबीच, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले बजेटसम्बन्धी छलफलमा सदस्य राष्ट्रहरूबीच अझै ठूलो दूरी रहेको बताएकी छन्। उनले युक्रेनलाई सहयोग गर्नु युरोपको सुरक्षासँग जोडिएको विषय भएकाले यसलाई निरन्तरता दिनुपर्ने धारणा राखेकी छन्। स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले पनि युक्रेन सहयोगका विषयमा सदस्य राष्ट्रहरूबीच अलग-अलग व्यवस्था गर्ने परम्परा स्थापित गर्न नहुने बताएका छन्।
ईयूको आगामी सात वर्षको बजेट सन् २०२८ देखि २०३४ सम्मका लागि प्रस्ताव गरिएको हो। करिब १.५८२ ट्रिलियन युरोको उक्त बजेटमा कृषि, क्षेत्रीय विकास, रक्षा तथा प्रतिस्पर्धात्मक क्षमतालगायतका क्षेत्रमा खर्च गर्ने योजना छ। यसबारे सहमति जुटाउन आगामी डिसेम्बर १७ र १८ मा अर्को शिखर सम्मेलन हुने अपेक्षा गरिएको छ। ईयूका नेताहरूबीच वर्षको अन्त्यसम्म सहमति जुटाउने प्रयास भइरहे पनि युक्रेन सहयोग र बजेटको आकारमा देखिएको मतभेदले वार्ता चुनौतीपूर्ण बनेको छ।
-एजेन्सीको सहयोगमा
No advertisements available
प्रतिक्रिया 0