काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्न थालेको छ। अर्थ मन्त्रालयका अनुसार एशियाली विकास बैंक (एडीबी)ले बजेटरी सहयोगका लागि ५ मिलियन अमेरिकी डलर अनुदान दिने प्रतिबद्धता जनाएको छ भने विश्व बैंकले सहुलियतपूर्ण कर्जाका रूपमा १६७ मिलियन अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकाले ५ लाख र अष्ट्रेलियाले १ मिलियन अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरेका छन्। एडीबीले प्राविधिक सहायताका लागि थप १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने भएको छ।
भारतबाट तीन चरणमा ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भइसकेको छ भने चीनले ३० वटा बेलीब्रिज र शव व्यवस्थापनका लागि २ हजार एयरटाइट ब्याग सहयोग गर्ने जनाएको छ। स्वीट्जरल्याण्डले १ मिलियन स्वीस फ्र्याङ तथा अन्तर्राष्ट्रिय महासंघ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी (आईएफआरसी)ले तत्काल १२ लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि खाद्यान्न, अस्थायी आवास, खानेपानी तथा सरसफाइ सामग्री, स्वास्थ्य तथा पोषण सामग्री, उद्धार उपकरण र सहायक सामग्री उपलब्ध गराइरहेका छन्। अक्सफामले सरसफाइ सामग्री तथा पानी शुद्धीकरणका ट्याब्लेट उपलब्ध गराएको छ भने डिसिए नेपाल, सेभ द चिल्ड्रेन, ब्लिकनाओ फाउन्डेसन, बीबीसी मिडिया एक्सन, एड्रा नेपाल, हेलेन केलर इन्टरनेसनल, इस्लामिक रिलिफ नेपाल, प्लान इन्टरनेसनल नेपाल, पिपुल इन निड, मर्सी कप्र्स, युनाइटेड मिसन टु नेपाल, ह्यान्डिक्याप इन्टरनेसनल र केयर नेपाललगायत संस्थाले प्रभावित जिल्लामा राहत तथा पुनःस्थापनाका विभिन्न कार्यक्रम अघि बढाएका छन्।
सहयोगमा टेन्ट, खाद्यान्न, गैरखाद्य सामग्री, जेनेरेटर, गमबुट, उद्धार उपकरण, सरसफाइ सामग्री, पोषण सहयोग, सहायक उपकरण तथा महिला–बालबालिकाका लागि सुरक्षित स्थान स्थापनासम्मका कार्यक्रम समेटिएका छन्।
यसैबीच सरकारले सुरु गरेको प्रधानमन्त्री राहत कोषमा पनि रकम संकलन हुने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार रातिसम्म नौ वटा वाणिज्य बैंकका खातामा ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ जम्मा भएको छ। यस्तै हिमालयन बैंक र लक्ष्मी बैंकमा ६ लाख ८० हजार ६१८ अमेरिकी डलर अर्थात् करिब १० करोड ३८ लाख रुपैयाँ बराबर रकम जम्मा भएको कार्यालयले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा प्राप्त भइरहेको
सहयोग खाद्यान्नमा मात्र सीमित नरही अस्थायी आवास, खानेपानी, सरसफाइ, स्वास्थ्य, पोषण, सञ्चार सेवा पुनःसञ्चालन, उद्धार उपकरण तथा घाइते र अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सहायक सामग्रीसम्म विस्तार भएको छ।
No advertisements available
प्रतिक्रिया 0