सुरुङमा थुनिएका ६० जनाको उद्धारमा चुनौती
काठमाडौं । रसुवामा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्यामा कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। बाढीले आयोजनाका संरचनामा क्षति पुर्याएसँगै कतिपय कर्मचारी तथा कामदार सुरुङ र विद्युत्गृह क्षेत्रमा फसेका छन्।
रसुवामा निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाका ८ जना कोरियनसहित १८ जना कर्मचारी बाढीपछि सम्पर्कविहीन भएका छन्। आयोजनास्थलमा रहेका उनीहरू बाढी आएपछि सम्पर्कमा नआएको आयोजना स्रोतले जनाएको छ। त्यस्तै, आयोजनामा कार्यरत २०० नेपाली कामदार र १० जना कोरियन प्राविधिक सुरक्षित स्थानमा उद्धारको प्रतीक्षामा रहेको बताइएको छ। सडक तथा सञ्चार सम्पर्क विच्छेद भएकाले उनीहरूको तत्काल उद्धारमा कठिनाइ भइरहेको छ।
यसैगरी रसुवाको स्याफ्रुबेँसीमा रहेको लाङटाङ खोला जलविद्युत् आयोजनाका ६० जना कर्मचारी तथा कामदार पनि सम्पर्कविहीन भएका छन्। तीमध्ये ३५ जना कामदार सुरुङभित्र काम गरिरहेका बेला बाढी आएपछि फसेका थिए भने आयोजनाको क्याम्पमा रहेका इन्जिनियर, ओभरसियर, चालक, भान्छे तथा सुरक्षाकर्मीसहित करिब २५ जनासँग पनि सम्पर्क टुटेको छ।
बाढीले भोटेकोशी तथा त्रिशूली नदी करिडोरका जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्याएको छ। रसुवागढी, लाङटाङ खोला, लाङटाङ–भोटेकोशी, चिलिमे र अपर त्रिशूली–१ लगायतका आयोजनाका संरचना प्रभावित भएका छन्। नुवाकोटतर्फ पनि माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रमा क्षति पुगेको छ।
बाढीपछि अहिले प्राथमिकता आयोजनामा फसेका तथा सम्पर्कविहीन कर्मचारी र कामदारको खोजी तथा उद्धारमा केन्द्रित गरिएको छ। सडक, सञ्चार तथा आयोजनाका भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न समेत चुनौती देखिएको छ।
No advertisements available
प्रतिक्रिया 0