काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोपछि चीनले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ। बाढीबाट प्रभावित तिब्बतको केरुङ क्षेत्रको अवस्थाबारे चिनियाँ नेतृत्वले विशेष चासो देखाउँदै उद्धार तथा राहतका लागि उच्चस्तरीय टोली परिचालन गरेको छ।
चिनियाँ प्रधानमन्त्री ली चियाङले विपद्पछि उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। चिनियाँ सरकारी विवरणअनुसार उपप्रधानमन्त्री झाङ क्वोछिङ नेतृत्वको उच्चस्तरीय टोली घटनास्थलतर्फ पुगेको छ र उद्धार तथा राहत कार्यको स्थलगत समन्वय तथा निरीक्षण गरिरहेको छ।
यसैबीच, चीनको विदेश मन्त्रालयले नेपालतर्फको बाढी प्रभावित क्षेत्रमा करिब १०० जना चिनियाँ नागरिक सम्पर्कविहीन रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लिन जियानले प्रारम्भिक विवरणअनुसार ती नागरिक पर्यटक, तीर्थयात्री तथा अन्य व्यक्तिहरू हुन सक्ने बताएका छन्। उनीहरूको अवस्थाबारे नेपाल पक्षसँग थप विवरण पुष्टि गर्ने काम भइरहेको चीनले जनाएको छ।
चीन र नेपालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि समन्वय गरिरहेका छन्। चीनले आवश्यकताअनुसार नेपाललाई आपत्कालीन सहयोग उपलब्ध गराउन तयार रहेको पनि जनाएको छ।
नेपालतर्फ रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा बाढीले ठूलो जनधन तथा पूर्वाधार क्षति पुर्याएको छ। सडक, जलविद्युत् आयोजना तथा अन्य संरचनामा क्षति पुगेकाले उद्धार तथा राहत कार्यसमेत चुनौतीपूर्ण बनेको छ।
No advertisements available
प्रतिक्रिया 0