काठमाडौं । नेपाली ई–कमर्स बजारमा नयाँ प्रतिस्पर्धीका रूपमा ‘चाइनाबजार डटकम’ बुधबार (साउन १३) देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। यो नेपालमा स्थापना गरिएको नयाँ ई–कमर्स कम्पनी हो, जसले चीनका उत्पादकबाट सामान सिधै खरिद गरी आफ्नै आयात, गोदाम र वितरण प्रणालीमार्फत नेपाली उपभोक्तासम्म पुर्याउने व्यवसायिक मोडेल अपनाएको जनाएको छ।
कम्पनीका अनुसार परम्परागत आयातकर्ता, थोक विक्रेता र वितरकको बहु-तह आपूर्ति शृङ्खलालाई छोट्याएर कारखानादेखि उपभोक्तासम्म (Factory-to-Consumer) सामान पुर्याइनेछ। यसले अनावश्यक लागत घटाई गुणस्तरीय सामान उचित तथा पारदर्शी मूल्यमा उपलब्ध गराउन सहयोग पुग्ने कम्पनीको दाबी छ।
सुरुवाती चरणमा चाइनाबजारमा इलेक्ट्रोनिक्स, फेसन, लाइफस्टाइल, स्वास्थ्य तथा सौन्दर्य लगायतका सामग्री उपलब्ध हुनेछन्। ग्राहकले ईसेवा र खल्ती मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् भने कम्पनीले आफ्नै गोदाम र वितरण सञ्जालमार्फत छिटो तथा भरपर्दो डेलिभरी सेवा प्रदान गर्ने जनाएको छ।
कम्पनीका अनुसार नेपालको डिजिटल अर्थतन्त्र विस्तार हुँदै गएको र नेपाल–चीन व्यापारिक सम्बन्ध सुदृढ बन्दै गएको अवस्थामा चाइनाबजारले यी अवसरलाई उपयोग गर्दै आगामी दिनमा उत्पादनको दायरा र देशव्यापी वितरण सञ्जाल विस्तार गर्ने योजना बनाएको छ।
प्रतिक्रिया 0