एआईबाट उत्पादकत्व बढाउन चीनको तीन चरणको रणनीति

शुक्रबार, १२ भदौ २०८३, बेलुका ५:३०

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तीव्र रूपमा बढिरहेका बेला चीनले एआईलाई केवल प्रविधि अपनाउने विषयमा सीमित नराखी त्यसबाट दीर्घकालीन उत्पादकत्व वृद्धि र नयाँ रोजगारी सिर्जना गर्ने दिशामा अघि बढेको छ। विश्व आर्थिक मञ्चको विश्लेषणले चीनको अनुभवलाई एआई प्रयोग विस्तार गर्न खोजिरहेका अन्य देशका लागि उपयोगी नमुनाका रूपमा प्रस्तुत गरेको छ।

विश्लेषणअनुसार कार्यस्थलमा एआईको प्रभावलाई मुख्यतः विघटन, सहकार्य र सिर्जना गरी तीन चरणमा बुझ्न सकिन्छ। पहिलो चरणमा एआईले कोड लेख्ने, ग्राहक सेवा तथा दोहोरिरहने ज्ञानमूलक कामलाई स्वचालित बनाउँदै मानिसको परम्परागत काम गर्ने तरिकामा परिवर्तन ल्याउँछ। दोस्रो चरणमा मानिस र एआईबीच सहकार्य बढ्छ, जहाँ एआईले कर्मचारीको क्षमता बढाउने काम गर्छ। यसका लागि प्रविधि थप्नु मात्र नभई संस्थाको कार्यप्रणाली र जिम्मेवारीसमेत नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने देखिन्छ।

तेस्रो चरणमा एआईका कारण नयाँ काम, नयाँ भूमिका र नयाँ आर्थिक अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। यस क्रममा एआईसम्बन्धी प्राविधिक ज्ञानसँगै आफ्नो कार्यक्षेत्रको अनुभव, समस्या समाधान गर्ने क्षमता र निरन्तर सिक्ने सीप भएका जनशक्तिको माग बढ्नेछ। नियमित तथा प्रारम्भिक तहका काम एआईले सम्हाल्दै जाँदा युवाले अनुभव हासिल गर्ने अवसर घट्न सक्ने चुनौती पनि विश्लेषणले औँल्याएको छ।

यसलाई सम्बोधन गर्न चीनले सीप विकास, रोजगारी र नयाँ अवसर सिर्जनालाई एआई रणनीतिसँग जोड्ने प्रयास गरिरहेको छ। चीनको सन् २०२६ देखि २०३० सम्मको पन्ध्रौँ पञ्चवर्षीय योजनाले एआईका कारण रोजगारीमा आउन सक्ने परिवर्तनलाई सम्बोधन गर्ने विषयलाई समेत प्राथमिकता दिएको छ। युवाका लागि सीप विकास र व्यावहारिक अनुभवका अवसर विस्तार गर्ने योजनासमेत अघि सारिएको छ।

विश्व आर्थिक मञ्चका अनुसार एआई भित्र्याउनु मात्र दीर्घकालीन लाभको आधार होइन। एआईबाट वास्तविक उत्पादकत्व वृद्धि हासिल गर्न कार्यप्रणालीमा सुधार, कर्मचारीको क्षमता विकास, नयाँ सीपको तयारी र रोजगारीका नयाँ अवसर सिर्जनालाई सँगसँगै अघि बढाउन आवश्यक छ। चीनको अनुभवले प्रविधिको पूर्वाधारसँगै मानव सीप र रोजगारीको पूर्वाधारमा लगानी गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको देखाएको छ। 

प्रतिक्रिया 0