नेपालका बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिन स्टारलिंक तयार

आइतबार, १४ भदौ २०८३, बिहान ८:४६

काठमाडौं । नेपाल र तिब्बत सीमा क्षेत्रमा यसै साता आएको विनाशकारी बाढीपछि उद्धार तथा मानवीय सहायता कार्यमा सहयोग गर्न स्टारलिङ्कले नेपालका प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन तयार रहेको जनाएको छ। स्टारलिंकले सामाजिक सञ्जाल एक्समा स्टाटस लेख्दै नेपालका बाढी प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै यस्तो जानकारी दिएको हो।

स्टारलिंकले नेपाल सरकार तथा मानवीय सहायता क्षेत्रमा काम गरिरहेका साझेदारबाट अनुमति प्राप्त हुनेबित्तिकै आवश्यक उपकरण तैनाथ गरेर निःशुल्क सेवा उपलब्ध गराउन आफू तयार रहेको जनाएको छ। कम्पनीका अनुसार सडक, पुल र मोबाइल सञ्चार सञ्जालमा क्षति पुगेका अवस्थामा भरपर्दो सञ्चार सेवा उद्धार तथा राहत कार्यका लागि अत्यन्त महत्वपूर्ण हुन्छ।

एक्समा लेखिएको स्टाटसमा स्टारलिंकले सञ्चार पूर्वाधार अवरुद्ध भएका बेला उपग्रहमा आधारित इन्टरनेटले उद्धार टोलीलाई खोज तथा उद्धार अभियान समन्वय गर्न, स्वास्थ्यकर्मीलाई घाइतेको उपचारमा सहयोग गर्न तथा हराइरहेका आफन्तसँग परिवारलाई सम्पर्क गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरेको छ। विद्युत्को स्रोत र आकाशतर्फ स्पष्ट दृश्य उपलब्ध भए स्टारलिंकको उपकरण जडान गरेको केही मिनेटमै उच्च गतिको तथा न्यून विलम्बता भएको इन्टरनेट सेवा सञ्चालन गर्न सकिने कम्पनीको भनाइ छ।

स्टारलिंक अमेरिकी अन्तरिक्ष तथा प्रविधि कम्पनी स्पेसएक्सद्वारा सञ्चालन गरिएको उपग्रहमा आधारित इन्टरनेट सेवा हो। पृथ्वीको निम्न कक्षमा रहेका हजारौँ उपग्रहको सञ्जालमार्फत इन्टरनेट उपलब्ध गराउने स्टारलिंकले दुर्गम तथा परम्परागत सञ्चार पूर्वाधार कमजोर भएका क्षेत्रमा समेत सेवा पुर्‍याउँदै आएको छ। प्राकृतिक विपद्का समयमा सञ्चार पूर्वाधारमा क्षति पुगेका स्थानमा आपत्कालीन सञ्चारका लागि यसको सेवा उपयोगी हुने बताइएको छ।

नेपालमा पछिल्लो बाढीबाट सडक, पुल, जलविद्युत् आयोजना तथा सञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको अवस्थामा स्टारलिंकको प्रस्तावले उद्धार तथा राहत व्यवस्थापनमा सञ्चार सहज बनाउन सहयोग पुग्न सक्ने देखिन्छ। यद्यपि नेपालमा सेवा सञ्चालनका लागि सम्बन्धित सरकारी निकायको अनुमति आवश्यक पर्नेछ।

प्रतिक्रिया 0