नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्मको तथ्यांकअनुसार अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक देखिएका छन्। वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशतमा सीमित रहँदा दश महिनाको औसत मुद्रास्फीति २.६६ प्रतिशत रहेको छ।
देशको कुल विदेशी विनिमय सञ्चिति रु. २४ खर्ब ४ करोड ५५ लाख पुगेको छ, जुन करिब १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। चालु खाता रु. ३७९ अर्ब २८ करोड र शोधान्तर स्थिति रु. ५८३ अर्ब ५६ करोड बचतमा रहेको छ।
वैशाखसम्म रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा ११.२ प्रतिशत र अमेरिकी डलरमा १३ प्रतिशतले वृद्धि भई रु. १२५७ अर्ब ४९ करोड पुगेको छ। यस अवधिमा निर्यात १४.२ प्रतिशत तथा आयात १६.८ प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेको छ। वार्षिक आधारमा निक्षेप वृद्धि १६ प्रतिशत तथा कर्जा वृद्धि ६.७ प्रतिशत रहेको छ। यस्तै, अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत र वाणिज्य बैंकहरूको निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर क्रमशः ३.६५ प्रतिशत र ६.७३ प्रतिशत रहेको छ।
यद्यपि, सरकारको खर्च रु. ११ खर्ब ७३ अर्ब ५२ करोड पुगेको बेला राजस्व परिचालन रु. ९ खर्ब ६८ अर्ब ५५ करोडमा सीमित रहेकाले वित्तीय व्यवस्थापनमा अझै चुनौती रहेको देखिन्छ।
प्रतिक्रिया 0