अहिलेसम्म ५० भन्दा बढीको मृत्यु, २५० बढीको उद्धार
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ५० भन्दा बढी नागरिकको मृत्यु भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको जानकारी दिएका हुन्।
उनका अनुसार बाढीपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितका सुरक्षा निकायलाई उद्धार तथा खोजी कार्यमा परिचालन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र घाइतेलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको प्रधानमन्त्रीले बताएका छन्।
घाइतेको निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको तथा अन्य ठूला अस्पताललाई समेत तयारी अवस्थामा राखिएको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार र प्रभावितको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। रातभर उद्धार तथा खोजी कार्य जारी रहने उनको भनाइ छ।
बाढीबाट रसुवासहित नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्र प्रभावित भएको जनाउँदै प्रधानमन्त्री शाहले प्रभावित परिवारसम्म खाना, स्वच्छ खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्याउने बताएका छन्।
उनले बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानी संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्ने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूसँगै छ,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पारेका छन्। साथै उनले राहत तथा उद्धार अभियानमा सहयोग गर्न सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकलाई आग्रह गरेका छन्।
No advertisements available
प्रतिक्रिया 0