बडीमालिकामा 4G सेवा सुरु, सञ्चारमन्त्रीद्वारा भर्चुअल उद्घाटन

सोमबार, ८ भदौ २०८३, बेलुका ४:०१
Font Size: 20px

बाजुरा । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमले 4G सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा टावर जडान गरी सोमबारदेखि मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट बडीमालिकामा 4G सेवाको उद्घाटन गरेका हुन्।

दुर्गम तथा उच्च हिमाली क्षेत्रमा आवश्यक उपकरण नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरी करिब एक महिनाको प्रयासपछि सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ।

4G सेवा सञ्चालनमा आएसँगै बडीमालिका क्षेत्रमा पुग्ने तीर्थयात्री तथा पर्यटकलाई मोबाइल र इन्टरनेट सेवाको पहुँच सहज हुने अपेक्षा गरिएको छ। साथै स्थानीय बासिन्दा तथा उद्धार, सुरक्षा र अन्य सरकारी सेवामा खटिने निकायलाई समेत सञ्चार सम्पर्कमा सहजता पुग्ने विश्वास गरिएको छ।

धार्मिक पर्यटनका लागि महत्वपूर्ण मानिने बडीमालिकामा सञ्चार सेवा विस्तारसँगै पर्यटक तथा तीर्थयात्रीको सूचना पहुँच, आपत्कालीन सम्पर्क र डिजिटल सेवाको प्रयोगमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया 0