अटो बजारसँगै वित्तीय सेवाको प्रतिस्पर्धा
काठमाडौं । नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी ‘नाडा अटो शो २०२६’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को ५०औँ स्थापना वर्ष अर्थात् स्वर्णजयन्तीको अवसरमा आयोजना गरिएको प्रदर्शनी भदौ १४ गतेसम्म सञ्चालन हुनेछ।
यस वर्षको प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा कमर्सियल सवारीसाधनका ५१ ब्रान्ड सहभागी छन्। त्यसमध्ये २२ वटा कार ब्रान्ड रहेका छन्। बीवाईडी, टाटा, सुजुकी, दीपल, अवतार, स्कोडा, जिली, एमजी, जीडब्ल्यूएम, ओमोडा, जेको, जेटोर, लीपमोटर र स्काइवेललगायत ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्।
दुईपाङ्ग्रे सवारीतर्फ रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा/एप्रिलिया, एम्पियर, मेटाईभी र रिभोल्टलगायत ब्रान्ड सहभागी छन्। विशेषगरी विद्युतीय सवारीसाधनका ब्रान्डको उल्लेखनीय उपस्थितिले नेपाली अटो बजारमा ईभीको बढ्दो प्रतिस्पर्धालाई देखाएको छ।
गाडीसँगै कर्जा र बीमाको बजार
यसपटकको अटो शो सवारीसाधन प्रदर्शनमा मात्र सीमित छैन। टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा अटो कम्पोनेन्ट कम्पनीसँगै बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरू पनि सहभागी छन्। नाडाका अनुसार प्रदर्शनीमा वित्तीय तथा बीमा सेवाका १० प्रदायकको सहभागिता रहनेछ।
यसले नयाँ सवारीसाधन खरिद गर्ने उपभोक्ताका लागि सवारी कर्जा, बीमा तथा अन्य वित्तीय सेवाबीचको प्रतिस्पर्धालाई समेत प्रदर्शनीको एउटा महत्त्वपूर्ण पक्ष बनाएको छ। विशेषगरी ईभीको बजार विस्तारसँगै बैंक तथा वित्तीय संस्थाका लागि अटो फाइनान्सिङको नयाँ अवसर सिर्जना भइरहेको छ।
ईभी खरिदमा ब्याजदर, कर्जाको अवधि, डाउन पेमेन्ट, बीमा लागत तथा चार्जिङ पूर्वाधारजस्ता विषय उपभोक्ताको निर्णयसँग प्रत्यक्ष जोडिन्छन्। त्यसैले अटो बजार विस्तारसँगै वित्तीय संस्थाले ईभीमैत्री कर्जा तथा अन्य वित्तीय उत्पादन विकास गर्ने अवसर पनि बढेको देखिन्छ।
ईभी बजारमा बढ्दो प्रतिस्पर्धा
नाडा अटो शोको यस वर्षको अर्को विशेषता विद्युतीय सवारीसाधनको व्यापक उपस्थिति हो। विभिन्न नयाँ तथा स्थापित ईभी ब्रान्ड एउटै मञ्चमा आएपछि नेपाली उपभोक्ताले मूल्य, प्रविधि, रेन्ज, सुरक्षा र वित्तीय सुविधाका आधारमा विकल्प तुलना गर्न पाउने भएका छन्।
आयोजकका अनुसार करिब तीन लाख वर्गफुट क्षेत्रमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारी, लाइट कमर्सियल भेहिकल, दुईपाङ्ग्रे, वित्तीय तथा बीमा सेवा र अटोमोबाइल पार्टपुर्जासहितको सहभागिताले प्रदर्शनीलाई सम्पूर्ण अटोमोबाइल इकोसिस्टमको मञ्चका रूपमा प्रस्तुत गरेको छ।
प्रतिक्रिया 0