काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि सरकारले ‘र्यापिड एक्सन टिम’ परिचालन गरी खोज तथा उद्धार तथा राहत सहजीकरणलाई तीव्र बनाएको छ। बाढीको सूचना प्राप्त भएलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा छुट्टाछुट्टै उच्चस्तरीय एक्सन टिम गठन गरी काम अघि बढाइएको हो।
टोलीले स्थानीय नागरिक, जनप्रतिनिधि तथा स्थानीय, प्रदेश र केन्द्रका कर्मचारीसँग प्रत्यक्ष समन्वय गरी प्रभावित क्षेत्रको अवस्था पहिचान गरेको थियो। सञ्चारका विभिन्न माध्यमबाट संकलित सूचनाका आधारमा जोखिममा परेका क्षेत्रमा तत्काल सुरक्षाकर्मी परिचालन गरी खोज तथा उद्धार अघि बढाइएको जनाइएको छ।
सम्भावित घाइते तथा बिरामीको उपचारलाई ध्यानमा राख्दै प्रभावित जिल्लाका सुरक्षित अस्पतालसँगै काठमाडौंका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र रक्तसञ्चार केन्द्रलाई उच्च सतर्कतामा राखिएको छ। प्राधिकरणमा गृहमन्त्री, गृहसचिव तथा सुरक्षा निकायका प्रमुखहरूले भिडियोमार्फत घटनास्थलको अवस्था बुझ्दै स्वास्थ्यकर्मी र सुरक्षा टोली परिचालन गरी उद्धारलाई थप प्रभावकारी बनाएका छन्।
No advertisements available
प्रतिक्रिया 0