अष्ट्रेलियाले आधिकारिक संगीत चार्टमा पूर्णरूपमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार गरिएका गीतलाई समावेश नगर्ने भएको छ। अष्ट्रेलियन रेकर्डिङ इन्डस्ट्री एसोसिएसन (ARIA) ले नयाँ नियम सार्वजनिक गर्दै एआईबाट पूर्ण रूपमा सिर्जित गीतलाई अब ARIA Charts का लागि अयोग्य बनाएको हो।
नयाँ व्यवस्था आगामी २८ अगस्टदेखि प्रकाशित हुने चार्टबाट लागू हुनेछ। तर एआईलाई सहायक उपकरणका रूपमा प्रयोग गरिएको र मूलतः मानव सिर्जनामा आधारित गीत भने चार्टमा समावेश हुन सक्नेछन्। ARIA का अनुसार एआई प्रयोग भएको रेकर्डिङ ‘मुख्य रूपमा मानवद्वारा सिर्जित’ हुनुपर्नेछ र स्ट्रिमिङ वा चार्टमा कृत्रिम रूपमा प्रभाव पार्ने शंका पनि हुनु हुँदैन।
यो निर्णय अष्ट्रेलियाली डीजे तथा निर्माता जोश फवाजको मडोनाको चर्चित गीत ‘Like a Prayer’ को कभरलाई लिएर उत्पन्न विवादपछि आएको हो। उक्त गीतमा एआईबाट सिर्जित भोकल र ड्रम प्रयोग भएको भन्दै संगीत क्षेत्रमा प्रश्न उठेपछि फवाजले पछि गीतको क्रेडिटमा एआई प्रयोग भएको उल्लेख गरेका थिए। गीत अष्ट्रेलियाको रेडियो एयरप्ले चार्टमा शीर्ष स्थानमा पुगेको थियो र विभिन्न ARIA चार्टमा समेत उच्च स्थान हासिल गरेको थियो।
ARIA ले नयाँ नियममार्फत एआईले संगीत सिर्जनामा खेल्ने भूमिकालाई स्पष्ट रूपमा छुट्याउन खोजेको जनाएको छ। नयाँ व्यवस्थाअनुसार एआईको मुख्य योगदान रहेको गीतलाई चार्टबाट हटाउन, चार्टको स्थान परिवर्तन गर्न वा सम्बन्धित पुरस्कारसमेत फिर्ता लिन सकिनेछ।
संगीत क्षेत्रमा एआईको बढ्दो प्रयोगसँगै कलाकारको सिर्जनात्मक अधिकार, पारिश्रमिक र मौलिकताको विषयमा विश्वव्यापी बहस चलिरहेका बेला अष्ट्रेलियाको यो कदमलाई मानव सिर्जनाको संरक्षणतर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
No advertisements available
प्रतिक्रिया 0