चीनतर्फको बाढीमा ३ को मृत्यु, ५५८ बेपत्ता

बिहीबार, ११ भदौ २०८३, बिहान ९:४५

काठमाडौं । चीनको दक्षिण-पश्चिमी क्षेत्र तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ काउन्टीमा बुधबार आएको भीषण बाढीमा परी ३ जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता भएका छन्।

चिनियाँ सञ्चारमाध्यम ‘पिपल्स डेली’का अनुसार बाढीबाट केरुङ काउन्टीका विभिन्न क्षेत्र प्रभावित भएका छन्। बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ।

उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन चिनियाँ जनमुक्ति सेना (पीएलए) समेत परिचालन गरिएको जनाइएको छ। पीएलएका टोलीले स्थानीय उद्धारकर्मीसँग समन्वय गरी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य गरिरहेका छन्।

बाढीका कारण प्रभावित क्षेत्रमा ठूलो क्षति पुगेको जनाइएको छ। सडक, पुललगायतका पूर्वाधारमा क्षति पुगेपछि उद्धार तथा राहत कार्यमा चुनौती थपिएको बताइएको छ।

बेपत्ता भएकाहरूको खोजी जारी रहेकाले मृतक तथा प्रभावितको संख्या थप बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया 0