काठमाडौं । नेपाल सरकारले आन्तरिक ऋण परिचालन गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ६ वर्ष अवधिको विकास ऋणपत्र–२०८९ (NPDB06112089) बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो ।
कार्यालयका अनुसार उक्त ऋणपत्रका लागि २०८३ मंसिर ९ गते बुधबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म बोलकबोल हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्था, व्यक्ति, फर्म, संस्था तथा कम्पनीले कार्यालयको ऋणपत्र निष्कासन तथा व्यवस्थापन प्रणाली (DOMS) मार्फत आवेदन दिन सक्नेछन् ।
कुल निष्कासन रकममध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलकबोलकर्ताका लागि र बाँकी १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलकबोलकर्ताका लागि छुट्याइएको छ । ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ ।
प्रतिस्पर्धी बोलकबोलकर्ताले आफूले खरिद गर्न चाहेको रकम र अपेक्षित ब्याजदर उल्लेख गर्नुपर्नेछ भने अप्रतिस्पर्धी बोलकबोलकर्ताले खरिद गर्न चाहेको रकम मात्र उल्लेख गरे पुग्नेछ । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारण भएको एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलकबोलकर्तालाई पनि ऋणपत्र उपलब्ध गराइनेछ ।
ऋणपत्र खरिदका लागि न्यूनतम सीमा ५ लाख रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले ५ लाख रुपैयाँको गुणांकमा आवेदन दिन सक्नेछन् । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाहेक अन्य बोलकबोलकर्ताले आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशत बराबरको धरौटी रकम जम्मा गर्नुपर्नेछ ।
विकास ऋणपत्र २०८३ मंसिर १० गते निष्कासन हुनेछ भने यसको साँवा भुक्तानी २०८९ मंसिर १० गते हुनेछ । ऋणपत्रमा प्राप्त हुने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ र ब्याजमा प्रचलित व्यवस्थाअनुसार आयकर लाग्नेछ ।
यस ऋणपत्रलाई धितोका रूपमा प्रयोग गरी कर्जा लिन तथा दिन सकिने व्यवस्था छ । साथै, ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा DOMS प्रणालीमार्फत गर्न सकिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
No advertisements available
प्रतिक्रिया 0