प्रधानमन्त्री राहत कोषमा इनड्राइभको ७ करोड ५० लाख सहयोग

बिहीबार, २५ भदौ २०८३, दिउँसो ३:२६

काठमाडौं । यातायात सेवा प्रदायक कम्पनी इनड्राइभले नेपालमा बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनःउत्थानका लागि ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

आर्थिक सहयोगसँगै इनड्राइभको टोलीले बाढीबाट प्रभावित नुवाकोटको विदुर पुगेर प्रभावित परिवारलाई आवश्यक राहत सामग्रीसमेत वितरण गरेको छ। राहत वितरण कार्यक्रममा कम्पनीकी ब्रान्ड प्रतिनिधि तथा अभिनेत्री स्वस्तिमा खड्का पनि सहभागी भएकी थिइन्। टोलीले प्रभावित परिवारको आवश्यकतालाई ध्यानमा राख्दै अत्यावश्यक सामग्री उपलब्ध गराएको जनाएको छ।

इनड्राइभले बाढी तथा विपद्बाट प्रभावित सबै परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत, पुनःस्थापना र पुनःउत्थानका प्रयासमा साथ दिने प्रतिबद्धता जनाएको छ। कम्पनीले विपद्पछिको पुनर्निर्माणमा सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउँदै नेपालसँगै उभिएर अझ बलियो रूपमा पुनर्निर्माणमा सहयोग गर्ने सन्देश दिएको छ।

प्रतिक्रिया 0