नेपाल राष्ट्र बैंकले AML/CFT अनुपालन र वित्तीय अपराध रोकथामबारे बैंकहरूसँग छलफल गर्‍यो

Friday, 05 June 2026, 10:35 PM
26 पटक हेरियो
Font Size: 20px

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी (AML/CFT) सम्बन्धी नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन र अनुपालनलाई थप सुदृढ बनाउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (CEO) तथा सम्पत्ति शुद्धीकरण निवारण समितिका संयोजकहरूको सहभागितामा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा AML/CFT सम्बन्धी प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाको पालना, जोखिममा आधारित निगरानी प्रणाली, ग्राहक पहिचान (KYC), शंकास्पद कारोबारको पहिचान तथा प्रतिवेदन (STR) लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो ।

सहभागीहरूले बैंक तथा वित्तीय संस्थाहरूले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्तीयकरणको जोखिम न्यूनीकरणका लागि आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए। साथै, नियामकीय अपेक्षा, अन्तर्राष्ट्रिय मापदण्ड तथा विकसित हुँदै गएका वित्तीय अपराधका जोखिमहरूबारे समेत धारणा आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा AML/CFT अनुपालन केवल नियामकीय दायित्व मात्र नभई संस्थागत सुशासन, वित्तीय प्रणालीको विश्वसनीयता तथा अन्तर्राष्ट्रिय प्रतिष्ठासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गरिएको थियो। सहभागीहरूले बैंकिङ क्षेत्रले जोखिम व्यवस्थापन, कर्मचारी क्षमता अभिवृद्धि तथा प्रविधिमैत्री निगरानी प्रणालीमार्फत अनुपालनको स्तर थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।

यस्तो अन्तरक्रियाले बैंक तथा वित्तीय संस्थाहरूमा AML/CFT सम्बन्धी सचेतना वृद्धि गर्नुका साथै नियामक र बैंकिङ क्षेत्रबीच समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एक घण्टा अगाडि
26 पटक हेरियो

प्रतिक्रिया 0