भारतीय पर्यटकमाथि कडाइ गरिएको खबर निराधार : पर्यटन बोर्ड

Wednesday, 13 May 2026, 08:28 PM
6 पटक हेरियो
Font Size: 20px

काठमाडौं । नेपाल पर्यटन बोर्ड ले भारतीय पर्यटकमाथि नेपालमा विभिन्न प्रतिबन्ध लगाइएको भन्दै सार्वजनिक भएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। बोर्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय पर्यटकको नेपाल बसाइँमा ३० दिने सीमा तोकिएको, अनिवार्य परिचयपत्र मागिएको तथा सवारी साधन जफत गरिने जस्ता दाबीहरू पूर्णतः निराधार, कपोलकल्पित र भ्रामक रहेको स्पष्ट पारेको हो।

पछिल्लो समय केही सञ्चारमाध्यम र अनलाइन प्लेटफर्ममा नेपाल सरकारले भारतीय पर्यटकका लागि नयाँ तथा कडा नियम लागू गरेको भन्दै अपुष्ट समाचारहरू सार्वजनिक भएपछि बोर्डले औपचारिक स्पष्टीकरण दिएको जनाएको छ। बोर्डका अनुसार नेपाल–भारतबीचको ऐतिहासिक खुला सीमा, सांस्कृतिक सम्बन्ध तथा द्विपक्षीय समझदारीमा कुनै परिवर्तन गरिएको छैन। भारतीय पर्यटकको आवतजावत, बसाइँ अवधि वा भ्रमण प्रक्रियामा कुनै नयाँ बन्देज नलगाइएको पनि बोर्डले उल्लेख गरेको छ।

पर्यटन बोर्डले नेपाल भारतीय पर्यटकका लागि सधैं सुरक्षित, सहज र स्वागतयोग्य गन्तव्य रहेको दोहोर्‍याउँदै दुई देशबीचको पर्यटन सहकार्य अझै सुदृढ रहेको जनाएको छ। पर्यटकलाई सास्ती दिने उद्देश्य नभई प्रक्रिया थप सहज र प्रविधिमैत्री बनाउन सरकारले नयाँ डिजिटल प्रणाली लागू गरेको बोर्डको भनाइ छ।

बोर्डका अनुसार अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभाग ले भारतीय तथा अन्य विदेशी निजी सवारी साधनका लागि अनलाइन सहजीकरण प्रणाली सुरु गरेको छ। अब नेपाल प्रवेश गर्ने सवारी साधनले अस्थायी प्रवेश अनुमति तथा राजस्व भुक्तानीको प्रक्रिया घरमै बसेर वा सीमा नाकामा पुग्नुअघि नै अनलाइनमार्फत पूरा गर्न सक्नेछन्। यसले सीमा नाकामा हुने ढिलासुस्ती, भीडभाड र झन्झट कम गर्ने अपेक्षा गरिएको बोर्डले जनाएको छ।

पर्यटन बोर्डले सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म तथा सर्वसाधारणलाई आधिकारिक सरकारी स्रोतबाट पुष्टि नभएका संवेदनशील विषयमा भ्रम फैलाउने सामग्री प्रकाशन नगर्न आग्रह गरेको छ। साथै, नेपाल भ्रमण सम्बन्धी जानकारीका लागि सरकारी निकाय र बोर्डका आधिकारिक माध्यमलाई मात्रै आधार बनाउन अनुरोध गरेको छ।



20 घण्टा अगाडि
6 पटक हेरियो

प्रतिक्रिया 0