काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
प्रधानमन्त्री शाह पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित बिहीबार बिहान करिब ९ः३० बजे सडकमार्ग हुँदै नुवाकोट पुगेका थिए। उनले बाढी प्रभावित बस्तीको भौतिक अवस्था, सडक तथा अन्य पूर्वाधारमा पुगेको क्षतिको स्थलगत अवलोकन गरी काठमाडौँ फर्किएका छन्।
निरीक्षणका क्रममा प्रधानमन्त्री शाहसहितको टोलीले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग बाढीबाट भएको क्षति र उद्धार–राहतको अवस्थाबारे छलफल गरेको थियो। सो क्रममा उनले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा अवरुद्ध सडक र अन्य पूर्वाधारलाई शीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रमा तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको कामलाई समेत तीव्रता दिन निर्देशन दिएका छन्। रसुवाको भोटेकोशीबाट आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती तथा पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि सरकारले उद्धार, राहत र पुनर्स्थापनाका कामलाई प्राथमिकता दिँदै आएको छ।
बाढीपछि प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठक बोलाएर सम्बन्धित निकायलाई उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन निर्देशन दिएका थिए। स्थलगत निरीक्षण तथा आवश्यक निर्देशनपछि प्रधानमन्त्रीसहितको टोली आजै काठमाडौँ फर्किएको हो।
No advertisements available
प्रतिक्रिया 0