काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत सामग्री संकलन गर्न सरकारले तीन वटा स्थान तोकेको छ। सरकारले विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा संकलन गर्ने व्यवस्था गरेको छ।
स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री भने नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरिनेछ। संकलित सामग्री सरकारले आवश्यकताका आधारमा बाढी प्रभावित क्षेत्रमा पुर्याएर वितरण गर्ने जनाएको छ।
बाढीपीडितलाई सहयोग गर्न चाहने व्यक्ति तथा संघ–संस्थाले राहत सामग्री यी तीन स्थानमध्ये सम्बन्धित स्थानमा पुर्याउन सक्नेछन्। साथै, इच्छुक दाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्नेछन्।
राहत सामग्री बुझाउने स्थान तथा सम्पर्क व्यक्ति :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय आपतकालीन गोदामघर: श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि) – ९८४१८७९२२२
नेपाली सेनाको मैथेली ब्यारेक, बट्टार, नुवाकोट: आविष्कार (नेपाली सेना) – ९८५१२३४३२४
बैरेनी ब्यारेक, धादिङ: दिलिप घले – ९८५११५४२२६
आर्थिक सहयोग गर्न चाहने दाताले भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा योगदान गर्न सक्ने व्यवस्था गरिएको छ। सरकारले राहत वितरणलाई व्यवस्थित बनाउन तोकिएका संकलन केन्द्रमार्फत सहयोग उपलब्ध गराउन आग्रह गरेको छ।
No advertisements available
प्रतिक्रिया 0