काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा घरजग्गा कारोबारमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ प्रतिवेदनअनुसार समीक्षा वर्षमा घरजग्गा कारोबारको कुल संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा मात्रै कुल कारोबार संख्या १२.२५ प्रतिशतले बढेको छ। यस अवधिमा लिखत पारितअन्तर्गतको कारोबार १२.२८ प्रतिशत र राजीनामा कारोबार २२.८८ प्रतिशतले बढेको छ।
कारोबारको क्षेत्रफलमा पनि उल्लेख्य वृद्धि भएको छ। चौथो त्रैमासमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.४१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। आर्थिक वर्ष २०८२/८३ भरिमा घरजग्गा कारोबारको कुल कारोबार रकम ७२०.८६ अर्ब रुपैयाँ पुगेको छ, जबकि अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार रकम ३८६.१५ अर्ब रुपैयाँ थियो। चौथो त्रैमासमा मात्रै कारोबार रकम २७५.७३ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १२७.६१ अर्ब रुपैयाँको तुलनामा उल्लेख्य बढी हो।
घरजग्गा कारोबार बढेसँगै सरकारको राजस्व र पुँजीगत लाभकर संकलनमा समेत वृद्धि भएको छ। समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलित राजस्व ४८.२६ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकर ६३.२२ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ६.९३ प्रतिशतले बढेको छ। प्रतिवेदनका अनुसार यी तथ्यांक भूमि व्यवस्थापन तथा अभिलेख विभाग र राष्ट्र बैंकले संकलन गरेका घरजग्गासम्बन्धी तथ्यांकमा आधारित छन्।
प्रदेशगत रूपमा बागमतीमा घरजग्गा कारोबारको विस्तार सबैभन्दा उच्च देखिएको छ। चौथो त्रैमासमा बागमती प्रदेशमा कारोबार संख्या ६९.३८ प्रतिशतले बढ्दा मधेश प्रदेशमा ३.४४ प्रतिशतले घटेको छ। कारोबार क्षेत्रफल बागमतीमा ५०.२४ प्रतिशतले बढेको छ भने मधेशमा ६.१९ प्रतिशतले घटेको छ। कारोबारको कुल मूल्य सबै सातै प्रदेशमा बढेकामा बागमतीमा वृद्धि १७५.३३ प्रतिशत पुगेको छ। महानगरपालिकातर्फ काठमाडौंमा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ भने ललितपुरमा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत र भरतपुरमा ६३.०४ प्रतिशतले वृद्धि भएको छ। उपमहानगरपालिकातर्फ धनगढीमा कारोबार संख्या ६३.१६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।
No advertisements available
प्रतिक्रिया 0