विश्व अर्थतन्त्रदेखि ऊर्जा सुरक्षासम्म छलफल हुने
काठमाडौं । ब्रिक्सको १८औँ शिखर सम्मेलन भारतको नयाँ दिल्लीमा सेप्टेम्बर १२ र १३ मा हुँदैछ। भारतको अध्यक्षतामा हुन लागेको दुईदिने सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले विश्वव्यापी आर्थिक तथा भूराजनीतिक चुनौतीबारे छलफल गर्नेछन्। सम्मेलनको मुख्य जोड खाद्य तथा ऊर्जा सुरक्षा, स्वास्थ्य प्रणाली, विपद् प्रतिरोधात्मक क्षमता र महत्वपूर्ण आपूर्ति शृंखला सुदृढीकरणमा रहने भारतीय संचारमाध्यमहरुले जनाएका छन।
भारतले सन् २०२६ का लागि ब्रिक्सको अध्यक्षता गरिरहेको छ। सम्मेलनमा विश्व शासन प्रणाली, बहुपक्षीयता सुदृढीकरण, व्यापार तथा लगानी, प्रविधि सहकार्य लगायतका विषय पनि प्राथमिकतामा रहनेछन्। साथै, वर्तमान क्षेत्रीय तथा विश्वव्यापी द्वन्द्वले अर्थतन्त्र र आपूर्ति प्रणालीमा पारेको प्रभावबारे पनि नेताहरूबीच छलफल हुने अपेक्षा गरिएको छ।
यसपटकको सम्मेलनलाई विशेष रूपमा भारत–चीन सम्बन्ध सुधारको सम्भावनाका कारण पनि महत्वपूर्ण मानिएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दिल्ली पुग्ने तयारीमा छन्। सीको भारत भ्रमण सात वर्षपछि हुन लागेको हो। सम्मेलनको अवसरमा भारत–चीन र भारत–रुसबीच छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता हुने सम्भावना पनि छ।
सम्मेलनको अन्त्यमा ‘नयाँ दिल्ली घोषणापत्र’ जारी गर्ने तयारी छ। यसले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आर्थिक, व्यापारिक, ऊर्जा, प्रविधि तथा रणनीतिक सहकार्यका विषयमा साझा धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। पश्चिम एसियाको तनाव र त्यसले ऊर्जा तथा व्यापारमा पारेको प्रभावसमेत सम्मेलनको महत्वपूर्ण विषय बन्ने देखिएको छ।
ब्रिक्समा हाल ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया र इन्डोनेसिया गरी ११ सदस्य राष्ट्र छन्। सुरुमा ब्राजिल, रुस, भारत र चीनबाट बनेको समूहमा पछि दक्षिण अफ्रिका तथा अन्य नयाँ सदस्य राष्ट्रहरू थपिएका हुन्।
No advertisements available
प्रतिक्रिया 0