रसुवा बाढीको छैटौँ दिन : ११,३७९ जनाको उद्धार, ३,९२५ सम्पर्कविहीन

प्रधानमन्त्री राहत कोषमा हालसम्म ५ अर्ब ८८ लाख सहयोग

सोमबार, १५ भदौ २०८३, राति ९:३०

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको छ। बाढी आएको छैटौँ दिनसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको प्रधानमन्त्रीले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन। अझै ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको र यो संख्या निरन्तर घटबढ भइरहेको बताइएको छ।

सरकारका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ घाइतेमध्ये १६८ जना डिस्चार्ज भइसकेका छन्। नेपाली सेनासहित सुरक्षा निकायले प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाबाट समेत उद्धार जारी राखेका छन्। हालसम्म विभिन्न आयोजनाबाट २७९ जनाको उद्धार गरिएको छ। माथिल्लो त्रिशूली–१ आयोजनाबाट मात्रै २५४ जना, मैलुङ खोला आयोजनाबाट ९ जना तथा अन्य आयोजनाबाट समेत उद्धार गरिएको सरकारले जनाएको छ।

राहततर्फ काठमाडौंसहित विभिन्न स्थानबाट संकलित सामग्री रसुवा र नुवाकोटका २७ वितरण केन्द्रमार्फत ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म पुर्‍याइएको छ। भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट समेत सहयोग प्राप्त भइरहेको सरकारले जनाएको छ।

सडक तथा पूर्वाधार पुनःस्थापनातर्फ नुवाकोटको त्रिशूलीपारिको भू–भाग पुनः सडक सञ्जालमा जोडिएको छ। प्रभावित क्षेत्रमा अस्थायी पुल निर्माणलाई प्राथमिकता दिइएको छ भने भारतबाट २३० फिटको मोडुलर स्टिल ब्रिज तथा थप ७ वटा बेलीब्रिज आउने क्रममा छन्। चीनबाट समेत ३० वटा बेलीब्रिज प्राप्त हुने सरकारले जनाएको छ।

विद्युत् सेवातर्फ रसुवामा करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुनःस्थापना भएको छ। नुवाकोटमा ८५ प्रतिशत र धादिङमा ९८ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भइसकेको छ। सञ्चार सेवामा पनि सुधार आएको छ। नेपाल टेलिकमका १२० मध्ये ११० र एनसेलका ७८ मध्ये ७५ टावर सञ्चालनमा आइसकेका छन्।

सरकारले बाढीबाट भएको क्षतिको विवरण संकलनसँगै प्रभावित नागरिकको पुनःस्थापनाका लागि समेत तयारी अघि बढाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग जुटाउने क्रम जारी रहेको छ। प्रधानमन्त्री राहत कोषका ९ वटा वाणिज्य बैंकका खातामा हालसम्म ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको सरकारले जनाएको छ। सरकारले भोटेकोशी बाढीलाई हिमालय क्षेत्रमा हिमपहिरोबाट सिर्जित ठूलो विपद्का रूपमा लिँदै जलवायु परिवर्तनसँग जोडिएको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष समेत विषय उठाउने बताएको छ।

प्रतिक्रिया 0