काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा ५८ अर्ब १ करोड ८५ लाख ३०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको छ। विभागका अनुसार समीक्षा अवधिमा १,११६ वटा परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको हो।
विभागका अनुसार अटोमेटिक रुट (Automatic Route) अन्तर्गत ८९७ परियोजनामा ९ अर्ब ५८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता स्वीकृत भएको छ। यस्तै अप्रुभ्ड रुट (Approval Route) मार्फत २१९ परियोजनाका लागि ४८ अर्ब ४१ करोड ६६ लाख रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता स्वीकृत भएको विभागले जनाएको छ।
क्षेत्रगत रूपमा हेर्दा कृषिमूलक क्षेत्रमा सबैभन्दा बढी २३ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। यस क्षेत्रमा १८ वटा परियोजना स्वीकृत भएका छन्। त्यसपछि पर्यटन क्षेत्रमा २२७ परियोजनाका लागि १३ अर्ब ९९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।
त्यसैगरी, ऊर्जा क्षेत्रमा चार वटा परियोजनाका लागि ७ अर्ब १६ करोड रुपैयाँ, उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि ३ अर्ब ९१ करोड रुपैयाँ तथा सूचनाप्रविधि (आईटी) क्षेत्रमा ७२७ परियोजनाका लागि २ अर्ब ८३ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको विभागको तथ्यांकले देखाएको छ।
तथ्यांकअनुसार परियोजनाको संख्याका आधारमा आईटी क्षेत्र सबैभन्दा आकर्षक देखिएको छ भने लगानी रकमका आधारमा कृषि क्षेत्र अग्रस्थानमा रहेको छ। यसले नेपालमा साना तथा मध्यम आकारका सूचना प्रविधिसम्बन्धी परियोजनासँगै कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा पनि विदेशी लगानीकर्ताको चासो बढ्दै गएको संकेत गरेको विभागको विश्लेषण छ।
प्रतिक्रिया 0