रसुवा बाढी : १ हजार ३५५ जनाको मृत्यु, ५ हजार अझै सम्पर्कविहीन

सोमबार, २२ भदौ २०८३, दिउँसो १:४४

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ २२ गते बिहान ११ बजेसम्म चितवनमा सबैभन्दा धेरै ३ सय ६३ शव फेला परेका छन्। नवलपरासी पूर्वमा २ सय २२, नवलपरासी पश्चिममा २ सय २१, नुवाकोटमा १ सय ९७ र रसुवामा १ सय ६९ शव फेला परेका छन्। तीमध्ये ९८ जनाको मात्र सनाखत भएको छ।

बाढीपछि ४ हजार ९ सय ९६ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनमध्ये रसुवाका १ हजार ९ सय ६७, नुवाकोटका २ हजार ३ सय ४० तथा विदेशी नागरिक ५ सय ८९ जना रहेका छन्। उद्धार गरिएका तर सनाखत हुन बाँकी व्यक्तिहरू समेत यो सूचीमा पर्न सक्ने भएकाले तथ्यांक रुजु भइरहेको छ। हालसम्म १३ हजार ३ सय ९६ जनाको उद्धार गरिएको छ भने ६ हजार ६ सय ७२ घाइतेको उपचार गरिएको छ। प्रभावित क्षेत्रमा २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन्।

उद्धार तथा राहतलाई तीव्र बनाउन सेना, प्रहरी, सशस्त्र प्रहरी र निजी हेलिकप्टरमार्फत ठूलो संख्यामा उडान भइरहेको छ। प्रभावित जिल्लामा विद्युत तथा सञ्चार सेवा क्रमशः पुनःस्थापित हुँदै गएको छ। सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँसहित प्रभावित १५ पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ। साथै इन्धन, ग्यास, खाद्यान्न, स्वास्थ्यकर्मी र मनोसामाजिक परामर्शदाता परिचालन गरी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाको काम जारी राखिएको छ।

प्रतिक्रिया 0