काठमाडौं जिल्ला प्रशासनको अपिल

रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न आग्रह

शनिबार, १३ भदौ २०८३, बिहान १०:२२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो पीडितका लागि राहत सामग्री संकलन गर्न आग्रह गरेको छ। कार्यालयले काठमाडौं जिल्लाभित्र रहेका संघसंस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिक समाजलाई सहयोगका लागि अपिल गरेको हो।

कार्यालयका अनुसार बाढीपहिरोबाट प्रभावित परिवारका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी प्रयोजनका सामग्री संकलन गरी उपलब्ध गराउन सकिनेछ। संकलित राहत सामग्रीलाई सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा राहत उद्धारमा प्रत्यक्ष खटिएका काठमाडौंस्थित सुरक्षा निकायमार्फत प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको जनाएको छ।

राहत सामग्री संकलन तथा वितरणमा समन्वयका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजन कुमारी देवकोटालाई सम्पर्क गर्न आग्रह गरिएको छ। कार्यालयले राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले सामग्री उपलब्ध गराउनुअघि सम्बन्धित अधिकारीसँग समन्वय गर्न अनुरोध गरेको छ।

त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता नम्बर वा दिइएको क्यूआरमार्फत उक्त खातामा रकम जम्मा गर्न सकिने व्यवस्था रहेको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी गराएको छ।


प्रतिक्रिया 0