काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरूले उपलब्ध गराएको स्रोतसाधन प्रयोग गर्ने तयारी गरिरहेको बताएका छन्। बाढीका क्रममा संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएर काम गरेको भन्दै उनले यसबाट आफू खुसी भएको बताएका छन्।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो चाँडो पुनःस्थापना गर्ने गरी सरकारले निरन्तर काम गरिरहेको बताएका छन्। सडक सञ्जाल सञ्चालनमा आएपछि प्रभावित नागरिकलाई पूर्ववत् अवस्थामा फर्किन सहज हुने विश्वास उनले व्यक्त गरेका छन्। उनले नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय सुरुदेखि नै उठाउँदै आएको उल्लेख गर्दै अब बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताएका छन्। त्यसका लागि प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउने गरी सरकारले तयारी सुरु गरेको जानकारी दिएका छन्।
नयाँ बस्ती बसाउँदा प्रभावित नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति लगायतका पक्षलाई ध्यान दिनुपर्ने प्रधानमन्त्री शाहले बताएका छन्। खेतीयोग्य जमिन जोगाउँदै वैज्ञानिक र व्यवस्थित ढंगले बस्ती विकास गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय जनप्रतिनिधिहरूलाई सुरक्षित स्थानमा उपयुक्त जग्गा पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न आग्रह गरेका छन्। जनप्रतिनिधिहरूसँगको आजको छलफलले बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न सहयोग पुगेको समेत प्रधानमन्त्री शाहले बताएका छन्।
No advertisements available
प्रतिक्रिया 0