काठमाडौं । अमेरिकी उपविदेशमन्त्री Sarah B. Rogers ले अमेरिकी कम्पनीहरू नेपालको सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताएकी छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिना सँगको भेटवार्तामा उनले नेपाल–अमेरिका सहकार्यलाई डिजिटल पूर्वाधार, साइबर सुरक्षा र सूचना प्रविधि क्षेत्रमा अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएकी हुन ।
रोजर्सले अमेरिकी निजी क्षेत्र विशेषगरी सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको उल्लेख गर्दै नेपालमा लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र आवश्यक सहजीकरणको अपेक्षा गरेको बताइन्। उनले डिजिटल पूर्वाधार विकास तथा लगानी प्रवर्द्धनमा अमेरिका सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारिन्।
यसैबीच, अमेरिकी स्याटेलाइट इन्टरनेट सेवा प्रदायक starlink.com ले पनि नेपालमा सेवा विस्तार गर्न पुनः चासो देखाएको छ। कम्पनीकी निर्देशक रेबेका हन्टरले सञ्चारमन्त्री तिमिल्सिनासँग भेट गर्दै नेपालमा सेवा सञ्चालनका लागि अनुमति प्राप्त गर्न चाहेको र हाल विद्यमान केही नीतिगत तथा कानुनी जटिलताका कारण प्रक्रिया अगाडि बढ्न नसकेको बताएकी थिइन्।
मन्त्री तिमिल्सिनाले भने नेपाल विदेशी लगानी आकर्षित गर्न प्रतिबद्ध रहेको र प्रचलित कानुन तथा प्रक्रियाअनुसार काम गर्ने कुनै पनि कम्पनीलाई सरकारले सहजीकरण गर्ने बताएका छन्। सरकारले डिजिटल पूर्वाधार, सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधारलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।
रोजर्सको नेपाल भ्रमणका क्रममा दुई देशबीच प्रविधि, डिजिटल कनेक्टिभिटी, लगानी, व्यापार र आर्थिक सहकार्यका विषयमा व्यापक छलफल भएको छ। अमेरिका र नेपालबीच आगामी वर्ष कूटनीतिक सम्बन्धको ८० वर्ष पूरा हुन लागेकाले प्रविधि र व्यापार क्षेत्रमा सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 0