ट्रम्पको घोषणा : रिपब्लिकनले मध्यावधि चुनाव जिते हरेक वयस्क अमेरिकीलाई ५ हजार डलर

बिहीबार, २५ भदौ २०८३, बिहान ११:२३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले प्रतिनिधिसभा र सिनेटमा आफ्नो नियन्त्रण कायम राखे हरेक वयस्क अमेरिकी नागरिकलाई ५ हजार अमेरिकी डलर दिने प्रस्ताव अघि सारेका छन्। उनले यस्तो भुक्तानीलाई ‘ट्रम्प डिभिडेन्ड’ नाम दिएका छन्। ट्रम्पले ९ सेप्टेम्बरमा डलासमा आयोजित रिपब्लिकन पार्टीको मध्यावधि सम्मेलनमा यस्तो घोषणा गरेका हुन्। अमेरिकामा आगामी मध्यावधि चुनाव नोभेम्बर ३ मा हुँदैछ।

ब्लुमबर्गका अनुसार, ट्रम्पको प्रस्ताव कार्यान्वयन भएमा सरकारले वयस्क अमेरिकी नागरिकलाई ठूलो परिमाणमा प्रत्यक्ष नगद वितरण गर्नुपर्नेछ। करिब २७ करोड वयस्क अमेरिकीलाई ५ हजार डलरका दरले रकम दिँदा कुल लागत करिब १.३५ ट्रिलियन डलर पुग्न सक्छ। यद्यपि रकम कसरी वितरण गर्ने, को–को योग्य हुने र कार्यक्रम कहिलेदेखि लागू गर्ने भन्ने विषयमा ट्रम्पले विस्तृत योजना सार्वजनिक गरेका छैनन्। उपराष्ट्रपति जेडी भान्सले भने उच्च आय भएका अमेरिकीलाई यस्तो भुक्तानीबाट बाहिर राख्न सकिने संकेत गरेका छन्।

यति ठूलो रकम वितरणका लागि अमेरिकी कांग्रेसको स्वीकृति आवश्यक पर्ने देखिन्छ। सम्भावित स्रोतका रूपमा ट्रम्प प्रशासनले भन्सारबाट उठ्ने राजस्वतर्फ संकेत गरेको छ, तर विज्ञहरूले भन्सार राजस्व मात्रैबाट १ ट्रिलियन डलरभन्दा बढीको कार्यक्रम धान्न कठिन हुने बताएका छन्। अमेरिकी संघीय बजेट घाटा र राष्ट्रिय ऋण उच्च रहेको अवस्थामा थप ठूलो खर्चले सरकारी वित्तमाथि दबाब बढाउन सक्ने चिन्ता पनि छ। यसअघि ट्रम्पले भन्सार राजस्वबाट अमेरिकी नागरिकलाई २ हजार डलरसम्मको ‘ट्यारिफ डिभिडेन्ड’ दिने विचार अघि सारे पनि त्यो कार्यान्वयनमा आएको थिएन।

त्यसैले ५ हजार डलरको ‘ट्रम्प डिभिडेन्ड’ अहिले तत्काल लागू हुने सरकारी कार्यक्रम नभई मध्यावधि चुनावसँग जोडिएको राजनीतिक प्रस्तावका रूपमा रहेको छ। रिपब्लिकनले चुनाव जिते पनि रकम वितरण गर्न कांग्रेसबाट आवश्यक कानुनी तथा बजेटीय प्रक्रिया पूरा गर्नुपर्नेछ। प्रस्ताव कार्यान्वयन भए अमेरिकी नागरिकलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने भए पनि यसको वित्तीय स्रोत, सरकारी ऋणमा पर्ने प्रभाव र दीर्घकालीन आर्थिक भारबारे भने ठूलो बहस हुने देखिन्छ। 

प्रतिक्रिया 0